कोरोना खोप लिँदा मदिरा सेवन गर्न नहुने



लन्डन (एजेन्सी)

कोरोना भाइरस खोप लिनका लागि केही समय मदिरा सेवनबाट टाढा रहनु पर्ने विज्ञहरुले सुझाव दिएका छन् । मदिरा सेवनले शरीरमा प्रतिरोधात्मक क्षमता कम हुन सक्ने विशेषज्ञहरुले चेतावनी दिएको छ । एक दिन पहिला वा पछि मदिरा सेवनले खोपको असर कम हुन सक्ने उनीहरुले बताए ।

मदिरा पिउनाले शरीरमा रहेका त्यस्ता शुक्ष्मजीवहरुमाथि असर पर्छ जसले हानिकारक ब्याक्टेरिया वा भाइरसबाट हाम्रो शरीरलाई बचाउँछ । यसले गर्दा हाम्रो रगतमा रहेका ह्वाइट ब्लड सेल्सलाई नोक्सान पुर्याउन सक्छ । ह्वाइट ब्लड सेल्समा रहेको लिम्फोसाइट नै भाइरस विरुद्ध लड्न एन्टिबडी बनाउँछ ।

आपतकालिन मेडिसिन स्पेसलिस्ट डाक्टर इखारियाले रगत नमुनाको प्रयोग गरेका हुन् । रक्सी पिउनु पहिला र पछि ती नमुना लिइएको थियो । तीन गिलास मदिराको असर प्रष्ट देखिएको र त्यसबाट लिम्फोसाइट्सको संख्या ५० प्रतिशतले कम भएको पाइएको थियो । ह्वाइट ब्लड सेल्समा २० देखि ४० प्रतिशत सम्म लिम्पोसाइट्स हुन्छ ।

इम्युनोलोजिस्ट प्रोफेसर सीना क्रुकसेन्कले यसका कारण शरीरको प्रतिरोधक क्षमता कम हुन सक्ने बताए । उनीहरुले नागरिकलाई कोविड १९ खोप लिनु अघिपछि मदिराबाट टाढा रहन भनेका छन् । लिम्पोसाइट्स त्यो सेल हो जसले भाइरस जस्ता आक्रमण गर्ने जिवाणु विरुद्ध कसरी लड्ने हो त्यसको तय गर्छ ।

हाल बेलायतमा फाइजर र अक्सफोर्ड अस्ट्राजेनेकाका खोप लगाइरहेका छन् भने अमेरिकामा फाइजर र मोडेर्नाका खोप दिइरहेका छन् । कोरोनाले अहिलेसम्म मृत्यु हुने १८ लाख ६३ हजार नाघिसकेको छ । यो भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड ६१ लाख ९५ हजार नाघिसकेको छ भने ६ करोड ११ लाख ७६ हजार भन्दा बढी संक्रमणबाट ठीक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्