कोभिड–१९ विरुद्ध खोप लगाउँदाको अनुभव



हरि खनाल

अन्ततः विगत एक वर्षभन्दा लामो समयदेखि विश्वव्यापी महामारीको रूपमा आतंक मच्चाइरहेको कोभिड–१९ विरुद्धको खोप दिने कार्य अमेरिकालगायात विभिन्न देशहरूले शुरू गरेपश्चात् संसारभरिका मानिसले ठूलो राहतको महसुस गर्न थालेका छन् । शुरूको चरणमा फ्रन्ट लाइनमा कार्यरत स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी कर्मचारीहरू हुँदै जनसेवाका क्षेत्रमा परिचालित जनशक्ति र त्यसपछि जोखिममा रहेका समुदाय र अन्त्यमा सर्वसाधारणलाई खोप उपलब्ध गराउने बेलासम्म आइपुग्दा अरू कति मानिसको ज्यान जाने हो, त्यो अझै पनि चिन्ताको विषय रहिरहनेछ । तैपनि यो महामारी विरुद्धको खोप दिने कार्य शुरू गरेको खबरले यतिखेर मानिसमा ठूलो आशा र भरोसा पलाएको छ ।

सर्वप्रथम त विभिन्न अध्यययन, अनुसन्धान र चरणबद्ध क्लिनिकल ट्रायलपछि यति छोटो समयमै कोभिड–१९ विरुद्धको खोप सबैको निम्ति प्रयोगमा ल्याउन सफल कम्पनीहरूलाई धन्यवाद दिनै पर्दछ । विभिन्न कम्पनीहरूले उत्पादन गरेका कोभिड–१९ विरुद्धका खोपहरूको बारेमा थुप्रै कुरा बाहिर आइसकेका छन् । तैपनि सर्वसाधारण मानिसले कोभिड–१९ विरुद्धका यी खोपहरूले कसरी काम गर्छन् भनी अझ धेरै विश्वसनीय सूचनाहरू थाहा पाउनु अत्यन्तै जरुरी देखिन्छ ।

हुन त जनस्वास्थ्यको क्षेत्रमा संलग्न विभिन्न सरकारी तथा मान्यताप्राप्त गैरसरकारी निकायहरूले कोभिड–१९ विरुद्धको खोपका बारेमा धेरै सूचना प्रवाह गर्दै आइरहेका छन् । यद्यपि, खोप शुरू भइसकेको वर्तमान अवस्थामा मानिसहरूको अनुभवसहितको सूचाना आम सर्वसाधारणसम्म पु¥याउन सकियो भने मात्र मानिसहरूले खोप प्राप्त गरिसकेपछिको सम्भावित अवस्था कस्तो हुनसक्छ भन्ने बारेमा धेरथोर थाहा पाउन र उनीहरूले आफूलाई त्यही अनुसार तयारीमा राख्न सक्नेछन् ।

सामान्यरूपमा कतिपय खोप लगाइसकेपछि त्यसले मानिसमा कुनै न कुनै असर वा प्रभाव त पार्छ नै । तर हामीसँग अहिलेको आवश्यकताले जन्माएको अति नै नयाँ उत्पादन भएकाले कोभिड–१९ विरुद्धका खोपहरूले पनि त्यसरी नै प्रभाव पार्छ भन्ने पर्याप्त आधारहरू छैनन् । त्यसैले मानिसमा यो खोपबाट कुनै नौलो प्रकारको असर वा प्रभाव परेमा त्यसलाई सामान्यरूपमा लिनुपर्ने देखिन्छ ।

कुनै पनि खोप लगाउँदा हरेक मानिसमा त्यसको प्रभाव पनि भिन्नरूपमा देखा पर्दछ । कतिपय मानिसमा खोपको कुनै पनि असर वा प्रभाव देखिँदैन भने कतिपयमा सामान्य र केही मानिसमा उल्लेख्य असर वा प्रभाव पर्न सक्छ । अहिलेसम्म कोभिड–१९ विरुद्धका विभिन्न खोपहरू प्राप्त गरिसकेका मानिसहरूको अनुभवबाट कोभिड–१९ विरुद्धका खोपहरूले पनि यस्तै प्रकारका भिन्न असर र प्रभाव पर्ने रहेछ भन्ने कुरा देखाउँदै आएको छ । हाल यो खोप प्राप्त गरिसकेका कतिपय मानिसमा कुनै पनि असर देखा परेन भने कतिपयमा सामान्य र केही मानिसमा चाहिँ निकै मात्रामा असरहरू देखा परेको पाइएको छ । यसरी यो खोप प्राप्त गरेपश्चात् के–कस्तो अवस्था आउन सक्छ भनेर पहिले नै थाहा पाउन सकियो भने त्यही अनुसार आफूलाई पनि खोपको निम्ति तयारी अवस्थामा राख्न सकिन्छ । यही कुरालाई मध्यनजर राख्दै, म पाठकसमक्ष आफ्नो अनुभवलाई जस्ताको तस्तै राख्ने अनुमति चाहन्छु ।

म हाल अमेरिकाको मेसाचुसेट्स राज्यअन्तर्गत स्प्रिङफिल्ड शहरमा बसोबास गर्दछु । मलाई पनि एउटा सामुदायिक क्लिनिकमा काम गर्ने भएका कारण पहिलो चरणअन्तर्गत गत २८ डिसेम्बर, २०२० का दिन कोभिड–१९ विरुद्धको मोर्डेना नामक खोपको दुईवटामध्ये पहिलो डोज लगाउने अवसर मिल्यो । क्लिनिकल सिफारिसअनुसार यसको दोस्रो डोज कम्तीमा २८ दिनपछि मात्र लगाउन मिल्ने भएकाले अब त्यसैको निम्ति प्रतीक्षारत छु ।

मलाई अमेरिकाको पूर्वीय समयअनुसार बिहानको ११ः३० बजे मोर्डेना खोप लगाइएको थियो । यो खोप प्राप्त गर्ने व्यक्तिहरूमध्ये कुनै पनि प्रकारको एलर्जी नहुनेहरूलाई अतिरिक्त असर वा प्राभाव देखिन्छ कि देखिँदैन भनी कम्तीमा १५ मिनेटसम्म निगरानीमा राखेर छोडिएको थियो । तर, एजिथ्रोमाइसिन नामक एन्टिबायोटिकसँग एलर्जी छ भनेका कारण मलाई चाहिँ ३० मिनेटसम्म निगरानीमा राखेर मात्र छोडिएको थियो ।

खोप प्राप्त गर्नुपहिले मलाई पनि थोरै मात्रमा खुल्दुली त लागिरहेकै थियो तर खोप लगाउँदा कुनै नौलो अनुभव भने भएन । सामान्यरूपमा अन्य खोप लगाउँदा जस्तै चस्स दुख्यो, त्यसपछि यस्तै रहेछ भन्ने लागेर सबै खुल्दुलीहरू बिस्तारै हराएर गए । म ३० मिनेटको निगरानी सकिएपछि त्यहाँबाट आफ्नो घरतिर लागेँ ।

मलाई दिनको २ बजेसम्म पनि कुनै नौलो अनुभव नभएपश्चात् आफ्नै फेसबुक पेजमा एउटा स्टाटस लेखेर पोस्ट गरेँ । मैले स्टाटसमा खोपबाट कुनै पनि अतिरिक्त प्रतिक्रिया देखा नपरेको कुरा उल्लेख गरेको थिएँ । तर समय बित्दै जाँदा मेरो अवस्था मैले पोस्ट गरेको स्टाटसको ठीक विपरीत बन्दै गयो । मैले खोपको कारण धेरैवटा लक्षणहरूको अनुभव गर्नुप¥यो र त्यसबाट बिरामी परेर २ दिनसम्म ओछ्यान लाग्नुप¥यो । अन्तत्वगत्वा, आफ्नो अनुभवलाई पाठकसामु राख्नु उचित ठानेर यो लेख तयार पारेको हुँ ।

त्यस दिन मैले मोर्डेना खोप प्राप्त गरेको साढे ३ घन्टापछि अर्थात् दिनको ३ बजेपछि मेरो टाउको भारी भएजस्तो भयो र दुख्न शुरू ग¥यो । शुरू–शुरुमा त केही पनि होइन होला भन्ने लाग्यो । तर केही समयपछि जीउ पनि भारी भएर आयो । शरीरभरिका सबै जोर्नीहरू दुख्न थाले । बिस्तारै मलाई कतै कोभिड–१९ विरुद्धको खोपले यो सब भइरहेको त छैन ? भन्ने प्रश्न उठ्न थाल्यो । मनमनै चिन्ता पनि बढ्न थाल्यो । जीउ एकदमै आलस्य भएर आयो र दैनिकरूपमा सहभागी बन्दै आएको योग एवं ध्यान साधनासम्बन्धी प्रयोगात्मक कक्षामा समेत सामेल हुन नसकेर छुटाएँ ।

त्यसदिन म आफ्नो नियमित समयभन्दा अगावै, करिब साढे ९ बजेतिर सुत्न भनी बिस्तारामा गएँ । त्यस रात मलाई कम्पसहितको ज्वरो आयो, उठेर औषधि खानुप¥यो भनी कोठाबाट निस्कन लाग्दा केही चक्कर लाग्यो अनि होसियारीपूर्वक औषधि भएको ठाउँसम्म गएँ र औषधि सेवन गरेँ । त्यसपछि बाथरूम जान भनी यसो त्यसतर्फ जीउ मोड्न लाग्दा त्यसरी नै रिँगटा लाग्यो ।

भोलिपल्ट उज्यालो भएपछि पनि ज्वरो आउने, रिँगटा लाग्ने क्रम चली नै रह्यो । त्यस दिन मैले काम गर्न नसक्ने अवस्था भएकाले बिहानै आफ्नो सुपरभाइजरलाई फोनमार्फत सबै जानकारी गराएँ र काममा हाजिर हुन नसक्ने कुरा अवगत गराएँ । घरभित्रको कुनै पनि काम गर्न लाग्दा त्यसरी नै रिँगटा लाग्ने र छिटो–छिटो सास बढ्ने भएपछि दिनभर बिस्तारामै सुतिरहेँ । शरीरमा छिन्–छिन्मा पसिना आउने र पसिना सेलाएपछि जाडो हुने भई नै रह्यो । त्यो दिन पनि त्यसै बित्यो, रात पनि अघिल्लो रातजस्तै बित्यो ।

पर्सिपल्ट पनि मैले अनुभव गरिरहेका लक्षणहरूमा कुनै सुधार आएन । त्यस दिन पनि बिहानै आफ्नो सुपरभाइजरलाई फोन गरेर काममा हाजिर हुन नसक्ने अवगत गराएँ । अघिल्लो दिन जो–जो लक्षणहरू थिए ती सबै लक्षणहरू यथावत् अनुभव गरिरहेको थिएँ । यी लक्षणहरू कति दिनसम्म बस्ने हुन् भन्ने कुराले दिनभरि नै मनमा चिन्ता बढिरहेको थियो । तैपनि भोलि केही आराम होला भन्ने आशा लिएर बेलुकी छिट्टै सुत्न गएँ ।

नभन्दै भोलिपल्ट अर्थात् चौथो दिनको बिहान उठ्दा केही आराम भएको महसुस गरेँ । खोप लगाएको दोस्रो र तेस्रो दिनको तुलनामा सबै लक्षणहरूमा अन्दाजी ७० प्रतिशतले सुधार आएको महसुस भयो । त्यस दिन साँझ करिब ९ बजेसम्ममा ९० प्रतिशतले मेरा सबै लक्षणहरूमा सुधार आइसकेको थियो । भोलिपल्ट बिहानसम्ममा माथि उल्लिखित कुनै पनि लक्षणहरूको सामना गर्नुपर्ने छैन भन्ने आशासहित सुत्न भनी बिस्तारातर्फ लागेँ । नभन्दै चौथो दिनको बिहानसम्ममा मेरा सबै लक्षणहरू पूर्णरूपले हराएर गइसकेका रहेछन् । हाल म पहिलेको जस्तै सामान्य अवस्थामा फर्किसकेको कुरा अवगत गराउँदै आफ्नो अनुभवलाई यहीँ बिट मार्न चाहेँ ।

यहाँ प्रस्तुत मेरो अनुभव केवल जानकारी गराउने उद्देश्यले मात्र तयार पारेको हुँदा खोप प्राप्त गर्ने सबैलाई यस्तै हुन्छ भन्ने रूपमा मात्र नलिनु बुद्धिमतापूर्ण हुनेछ । अधिकांश मानिसलाई खोप प्राप्त गरेपश्चात् माथि उल्लिखित सबै लक्षणहरू देखा नपर्न पनि सक्छन् भन्ने कुरा पनि ध्यानमा राख्नुपर्ने देखिन्छ । मैले त केवल ‘यस्तो पनि हुनसक्छ है’ भनेर जानकारीको लागि एउटा प्रतिनिधि घटनाको रूपमा मात्र यहाँ आफ्नो अनुभव प्रस्तुत गरेको हुँ ।

हामी सबैले आफ्नो मातहतमा रहेका स्वास्थ्य क्षेत्रमा कार्यरत सरकारी एवं मान्यताप्राप्त निकायहरूले दिने जानकारीहरूमा बढी भर पर्नु उपयुक्त मानिन्छ । यदि उपलब्ध भएको खण्डमा जति सक्दो चाँडो कोभिड–१९ विरुद्धको खोप लगाउनु नै ठीक हुनेछ भन्ने मेरो पनि व्यक्तिगत धारणा रहेको छ ।
(लेखक खनाल अमेरिकास्थित भूट्निज सोसाइटी अफ वेस्टर्न मेसाचुसेट्सको बोर्ड प्रमुखका साथै एक स्वास्थ्य केन्द्रमा सामुदायिक स्वास्थ्य कार्यकर्ताको रूपमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्