मध्यरातमा स्थानीयले लखेटे भारतीय एसएसबी



गणेश घिमिरे, इलाम
आइतबार मध्यरातमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमा क्षेत्रमा पिलर गाडेपछि स्थानीयबासीले मध्यरातमै एसएसबीलाई लखेटेका छन् । जिल्लाको सूर्योदय नगरपालिकास्थित हिलेमा राति पिलर गाडेको थाहा पाउनेबित्तिकै त्यहीं पुगेर स्थानीयबासीले प्रतिकार गरेर लखेटेका हुन् ।
स्थानीयसँगै सशस्त्र प्रहरीको टोली पुगेपछि एसएसबी पछि हटेको थियो । एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस)ले देखाएको ठाउँ भन्दै नेपाली भू–भागपट्टि पिलर गाड्ने प्रयास गरेको थियो । तर राति नै स्थानीयबासी र सशस्त्र प्रहरी पुगेर विरोध गरेपछि एसएसबी पछि हटेको सशस्त्र प्रहरी बल पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बीओपी)का इन्स्पेक्टर नवीन खतिवडाले बताउनुभयो ।
सीमाक्षेत्रमा राखेको एसएसबीको पोस्टमा नयाँ नेतृत्व आएपछि पिलर गाड्ने प्रयास गरेको बताइएको छ । गत वर्ष हिले क्षेत्रकै नेपाली भूभागमा एसएसबीले नाली खनेपछि विवाद भएको थियो । भारतीय पक्षबाट सीमा पिलर नम्बर ७१ र ११ देखि ७२–२५ बीचको दशगजा भूभागमा एसएसबीले मिसिङ पिलर रहेको भन्दै अतिक्रमण गर्न खोजेको थियो ।
यता पिलर गाड्न खोज्ने एसएसबीले गल्ती स्वीकारेको छ । दुवै पक्षका सुरक्षा निकायका प्रमुखबीच सोमबार छलफल भएको थियो । छलफलमा बिनासूचना दशगजा क्षेत्रमा पिलर गाड्नु गल्ती भएको स्वीकारेको इन्स्पेक्टर खतिवडाले जानकारी दिनुभयो । छलफलमा आगामी दिनमा एकपक्षीयरुपमा बिनासूचना गतिविधि नदोहो¥याउने प्रतिबद्धता एसएसबीले जाहेर गरेको छ ।
छलफलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउकुमार लिम्बूको नेतृत्वमा १२ जना र सशस्त्रका इन्स्पेक्टर खतिवडाको नेतृत्वमा १४ जनाको टोली हिले क्षेत्रमा गएको थियो । छलफलपश्चात् एसएसबीका तर्फबाट असिस्टेन्ट सबइन्स्पेक्टर दिवांकर विश्वासको कमान्डमा खटिएको टोलीसँग नेपाली सुरक्षा टोलीले संयुक्त सीमा निरीक्षण गरेको छ ।
इलामको रोङ गाउँपालिकाको तिरिङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ दशमलव ५ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा सीमा विवाद रहेको छ । छब्बीसे, हिले पुलखोला, सन्दकपुरलगायतका क्षेत्रमा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेको छ । पछिल्लो समय नेपालतर्फ सशस्त्र प्रहरीको ६ वटा बीओपी स्थापना भएपछि अतिक्रमणमा कमी आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्