हेटौंडामा कोरोना परीक्षणको नयाँ विधि, खोप भण्डारणमा समस्या



न्युज अफ नेपाल, हेटौंडा ।

भाइरस संक्रमण पछिल्लो समय केही कम देखिएको हेटौंडा उपमहानगर क्षेत्रमा कोरोना परीक्षणमा नयाँ विधि सुरु भएको छ । पीसीआरबाट कोरोना परीक्षण गरिँदै आएकोमा अब ‘एन्टिजेन’ परीक्षण विधिबाट कोरोना परीक्षण गर्न थालिएको हो ।
उक्त विधिबाट कोरोना परीक्षण सुरु भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागार्इंले बताउनुभयो ।

पीसीआर परीक्षणका लागि भीटीएम सकिएको र नयाँ विधि आएकाले यसलाई आधिकारिकता दिएर कोरोना परीक्षण थालिएको उहाँले बताउनुभयो । तर, एन्टिजेन परीक्षणले भाइरसको जुन विन्दुलाई समात्नु पर्ने हो, त्यसलाई समात्ने सम्भावना कम रहेकाले यसबाट पोजेटिभ नतिजालाई पनि नेगेटिभ देखाइदिने जोखिम रहेको केही प्राविधिकको भनाइ छ भने केहीले एन्टिजेन परीक्षण भाइरसको प्रकृतिअनुसार प्रभावकारी रहने बताएका छन् ।

हेटौंडामा एन्टिजेन विधिबाट विहान र दिउँसो गरी दुई पटक परीक्षणको व्यबस्था मिलाइएको छ । तत्कालका लागि ३ हजार जनाको परीक्षण गर्न मिल्ने गरी सामग्री आइपुगेको चौलागार्इंले बताउनुभयो । प्राविधिकका अनुसार कोभिड–१९ पहिचानका लागि हाल पीसीआरलाई मानक मानिए पनि एन्टिजेन परीक्षणका थुप्रै फाइदा छन् ।

पीसीआरको तुलनामा एन्टिजेन परीक्षणको नतिजा केही मिनेटमै आउँछ । पीसीआरको तुलनामा एन्टिजेन परीक्षण कम खर्चिलो हुन्छ । यसलाई पीसीआर परीक्षणमा चाहिने महंगो उपकरण र रिजेन्टहरुको आवश्यकता पर्दैन । त्यसैले यस परीक्षणले बिरामीलाई द्रुतगतिमा पहिचान गर्न मद्धत गर्छ । यसरी व्यापकरुपमा गरिने परीक्षणले फलस्वरुप कोभिड–१९ प्रकोप नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्न सक्ने बताइन्छ ।

सक्रिय संक्रमितको पहिचानमा ढिलाइ हुँदा पछिल्लो समय कोरोनाकै कारण मृत्यु हुनेको संख्या बढेको सरकारको आँकलन छ । मृत्युदर घटाउँदै सक्रिय संक्रमितको पहिचान गरी रोग फैलिनबाट जोगाउन एन्टिजेन परीक्षणलाई व्यापक बनाउन लागिएको उहाँले बताउनुभयो ।

स्थानीय तहसँग सहकार्य गरी एन्टिजेन विधिबाट परीक्षण गर्ने योजना छ । बागमती प्रदेशमा ३२ हजार जनाको एन्टिजेन परीक्षण गर्न लागिएको छ । काठमाडौं उपत्यकामा ६४ हजारको परीक्षण हुनेछ । प्रायःजसो प्रोटिनले प्रतिरक्षा प्रणालीलाई उत्तेजित गर्छ, त्यसलाई एन्टिजेन (एन्टिबडी जेनरेटर) भनिन्छ ।

यी भाइरल प्रोटिन पनि त्यसैले एन्टिजेन हो । यस्ता भाइरल एन्टिजेनको पहिचान गर्नसके उक्त नमूनामा कोरोना भाइरस छ भन्ने संकेत गर्छ । यसरी गरिने परीक्षणलाई एन्टिजेन टेस्ट भनिन्छ । एन्टिजेन टेस्टबाट आएको पोजिटिभ नतिजा विश्वसनीय हुन्छ । र, यसलाई थप पुष्टीकरणको आवश्यकता पर्दैन ।

खोप भण्डारणमा समस्या

सरकारले कोरोना भाइरसको खोप ल्याउने तरखर गरिरहँदा कोरोना भाइरसको खोपका लागि बागमती प्रदेशको राजधानी रहेको हेटौंडामा भण्डारणमा समस्या हुने देखिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको खोप बिभिन्न देशमा लगाउन सुरु गरिसकिएको छ ।

अन्य देशको सहयोगमा नेपालमा पनि कोरोनाको खोप छिटै ल्याउने सरकारले बताइरहेको छ । फाइजर बायोएनटेकको खोपलाई विश्व स्वास्थ्य संगठनले आपत्कालीन प्रयोगका लागि अनुमति दिएपछि नेपालमा पनि खोप ल्याउने तयारी भएको छ । कोरोनाको खोप आउला र लगाउन पाइएला भन्नेमा धेरै नेपालीहरु आशाबादी छन् । तर, खोप ल्याइएपछि भण्डारण कहाँ गर्ने भन्ने समस्या प्रदेशको राजधानीमा उत्तिकै देखिएको पाइएको छ ।

फाइजर र बायोएनटेकले विकास गरेको खोप निकै कम तापक्रममा राख्नुपर्छ । खोपलाई माइनस ७० डिग्रीभन्दा कम तापक्रममा राख्न सजिलो नभएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाका निर्देशक डा. हरिबहादुर खड्का बताउनहुन्छ ।

उहाँले भन्नुभयो–सरकारले ल्याउन लागेको खोपका लागि माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । तर, हामीसँग त्यसको सुबिधा छैन । खोप भण्डारण गर्न चिस्यान केन्द्र स्थापना गर्नु जरुरी छ । खोप आए पनि जिल्लामा भण्डारणका लागि समस्या हुने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर प्रमुख प्रणय उपाध्यायले बताउनुभयो ।

‘खोप कहिले ल्याउने भन्दा पनि पहिले भण्डारका विषयमा सोच्नु जरुरी छ ।,’ उहाँले भन्नुभयो । बागमती प्रदेशको मकवानपुरमा मात्र नभएर सबै जिल्लामा प्रमुख समस्या नै खोप भण्डारण हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो–कोरोना भाइरसको खोप ल्याउन सम्भव भयो भने भण्डारण क्षमता अभाव छ ।

प्रदेशको राजधानीमा समेत खोप भण्डारणको क्षमता छैन । त्यसको व्यबस्थापन आबश्यक छ । सुरुमा आउने खोपलाई प्रदेशस्तरमा भण्डारण गर्ने गरी सरकारले सरोकारवालास“ग छलफल गरिरहेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत् गठित आठ समितिले काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्