नाचघर अनलाइन नाटक प्रतियोगिता गर्दै



सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले अनलाइन एकल नाटक प्रतियोगिता आयोजना गर्ने भएको छ। अब घर–घरमा रंगमञ्च भन्ने अवधारणा आत्मासाथ गर्दै देश विदेशका प्रतिभावान कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना गर्न लागिएको संस्थानले जनाएको छ।

प्रतियोगितामा नेपाली वा मातृभाषा प्रयोग गर्न सकिने, नाटकको अवधि १५ देखि २० मिनेटको हुनुपर्ने जनाइएको छ। प्रतियोगितामा सहभागी हुन चाहनेले नाटकको पाण्डुलिपिसहित सोहीअनुसार नाटकको भिडियो खिचेर २०७७ माघ मसान्तभित्र पठाउनुपर्ने, कलाकारको एकल प्रस्तुति हुनुपर्ने, नाटकको भिडियो एक सर्टको मात्र हुनुपर्ने प्रावधान राखिएको छ।

प्रतियोगिताका लागि प्राप्त नाटकमध्ये पहिलो चरणमा निर्णायकले उत्कृष्ट २५ नाटक छनोट गर्ने संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले बताए। ‘उत्कृष्ट २५ नाटकलाई संस्थानको सबै अनलाइन पोर्टलबाट प्रसारण गरिनेछ। प्रसारण भएको एक महिनाको अवधि अनलाइन अडियन्स जजिङका रूपमा रहनेछ’, महाप्रबन्धक राईले भने– ‘यस अवधिमा सर्वाधिक लाइक र शेयर भएका नाटकलाई निर्णायक मण्डलले बढीमा थप १५ अंक र छनोट चरणमा प्राप्त १०० मध्ये प्राप्त गरेको अंक मिलाई उत्कृष्ट ५ नाटक छनोट हुनेछन्।’ उत्कृष्ट ५ नाटकलाई संस्थानको मञ्चमा रंगमञ्चीय वातावरणबीच लाइभ प्रस्तुतिमार्फत विजेता छनोट गरिने उनले जनाए।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार रुयियाँ पुरस्कार एवं दुई जनालाई सान्त्वना पुरस्कारस्वरूप १५÷१५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ। उत्कृष्ट–५ मा परेका राजधानी बाहिरका प्रतियोगीलाई काठमाडौं आउने–जाने, बस्ने–खाने सबै व्यवस्था सांस्कृतिक संस्थानले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्