नेकपामा अझै ठाउँ छ : प्रधानमन्त्री ओली



नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अभियानमा लाग्नेका लागि आफूले नेतृत्व गरेको नेकपामा अझै ठाउँ रहेको बताउनुभएको छ । उहाँले सो कुरा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आयोजना गरेको बृहत् भेलालाई सम्बोधन गर्दै बताउनुभएको हो ।

उहाँले व्यक्तिगत महत्वाकांक्षा छाडेर देश बनाउने अभियानमा आउन आग्रह पनि गर्नुभएको छ । सम्बोधनकै क्रममा उहाँले भन्नुभयो– ‘अर्का अध्यक्ष, वरिष्ठ नेताहरु सबैको कुर्सी यथावत् छन् । पार्टीका बैठकमा सहभागी नभए पनि देश बनाउने अभियानमा अघि बढ्न आग्रह गर्दछु ।’ आफूले पार्टी र देशका हितमा काम गर्दागर्दै पनि त्यसको विषयमा कहिले नबोलेर हटाउने प्रयास निरन्तर भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उहाँले आफूले नाकाबन्दीको सामना गरेको र गुमेको भूमि फिर्ता गर्नका लागि संविधान संशोधन गरेको बताउनुभयो । यही सरकारले नै चीनसँग नाका खोलेको र भारतसँगको सम्बन्ध माथि उठाएको उहाँको भनाइ थियो ।

पहिलो महिला राष्ट्रपति तथा लोकतन्त्रको लडाइँबाट आएको व्यक्तिको इज्जतमाथि धावा बोल्दा पनि नेताले मन्दमुस्कानसहित ¥यालीमा सहभागी भएको भन्दै उहाँले भन्नुभयो– ‘गत वैशाखदेखि पुससम्ममा आफ्नो विरुद्धमा ३ सय १५ पटक बैठक बसेको पाइएको, तीमध्ये २ सय ८० बैठक खुमलटार, ३५ कोटेश्वर र अरू होटेलमा बसेको छ ।’

परिचयपत्र देखाएर भन्दा व्यवहार र बोलीबाट अनेरास्ववियु चिनिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । गाडीमा ज्येष्ठ नागरिकलाई सिट छाड्ने, सबै जात र वर्गलाई सम्मान गरेर आफूलाई चिनाउन उहाँले अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो– ‘तपाईंलाई अरू सबैले हेर्दा मीठो बोली, आकर्षक व्यवहार, देशभक्तिको भावना र राष्ट्रवादी चिन्तनबाट चिन्नुपर्छ ।’

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पूर्वमाओवादी एक हुन प्रचण्डले अनुरोध गरेको भन्दै त्यो अवस्थामा पूर्वएमालेलाई पनि फिर्ता पठाउन आग्रह गर्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले जनताले राजीनामा मागेको भए दिनुपर्ने तर दुईचार जना नेताले माग्दैमा दिनुनपर्ने बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रचण्ड र माधव नेपाललगायत नेता निर्वाचनमा जान डराइरहेको आरोप लगाउनुभयो । अनेरास्ववियुका अध्यक्ष ऐन सिंह महरले प्रधानमन्त्री ओलीले राष्ट्रियताको कुरा उठाउँदा उहाँमाथि प्रहार हुने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्