पार्टी गुटको छायाँमा राजीनामाको चर्काचर्की : ‘दिएकै छैन, स्वीकृत भइसक्यो’



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टको ‘राजीनामा’ को विषयले केही दिनअघि धेरै चर्चा पायो । विभिन्न सञ्चारमाध्यमले प्रकाशन गरेको समाचारप्रति पालिकाले आपत्ति जनाएर अध्यक्ष एकराज उप्रेतीद्वारा विज्ञप्तिसमेत जारी गरेर राजीनामाको कुरा भ्रामक भएको जानकारी गराइयो ।

पालिकाको कार्यालयमा राजीनामा दर्ता नै नभएको पालिका अध्यक्ष उप्रतीले बताउनुभएको थियो । ‘कार्यालयमा तपाईंहरु जो आए पनि राजीनामाको पेपर भेट्नुभयो भनेमात्र समाचार लेख्नूस् । आधारहीन समाचार सम्प्रेषण गरेर जनतामा भ्रम नफैलाउनूस्’ भन्ने अभिव्यक्ति उहाँले दिनुभएको थियो । तर, उहाँले यस्तो अभिव्यक्ति दिएको दुई हप्ता नबित्दै उपाध्यक्षको राजीनामा शुक्रबार स्वीकृत गरिएको जानकारी आइतबार दिइयो ।

यसअघि उपाध्यक्षको राजीनामा पेश भएको कुरा भ्रामक रहेको अध्यक्ष आफैंले पुष्टि गर्दै आउनुभएको थियो । पछिल्लो समय नेकपाभित्रको राजनीतिक घटनाक्रमसँगै पालिकाको विवाद उत्कर्षमा पुगेको आँकलन गरिएको छ । उपाध्यक्ष बिष्टको राजीनामासहित अध्यक्ष र कर्मचारीहरुसँग विवाद बढेको भन्ने समाचार आएपछि पुस १ गते कार्यपालिका बैठक बस्यो ।

बैठकको माइन्युटमा लेखिएको छ–गाउँपालिका उपाध्यक्ष बिष्टले आफ्नो पदबाट राजीनामा दिएको भन्ने विषयसँग जोडेर भ्रामक र कपोकल्पित विषयहरु समेटेर सञ्चारमाध्यममा आएका खबरबारे कार्यपालिका बैठकमा गम्भीर ध्यानाकर्षण भयो । पुष्टयाइँबिना सत्यतथ्य नबुझी भ्रमपूर्ण, कपोकल्पित आरोपका समाचार आउनु दुःखद् र भत्र्सनायोग्य र खेदपूर्ण छ ।

मिडियाकर्मीले समाचार प्रकाशन/प्रसारण गर्दा आधिकारिकरुपमा बुझी प्रकाशन/प्रसारण गर्नुहुन बैठक हार्दिक आग्रह गर्दछ । अध्यक्षद्वारा जारी गरिएको विज्ञप्ति उपाध्यक्ष बिष्टले पत्रकार सम्मेलनमै पढेर सुनाउनुभयो । केही दिनदेखि चर्चापरिचर्चा भइरहेको पालिका उपाध्यक्षको राजीनामापत्र दर्ता भएको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि त्यसको खण्डन र वास्तविकताबारे जानकारी दिन उपाध्यक्ष बिष्टले आइतबार हेटौंडामा पत्रकार सम्मेलन नै गर्नुभयो ।

सम्मेलनमा उपाध्यक्ष बिष्टले गाउँपालिकाका कर्मचारीले कीर्ते राजीनामापत्र बनाएर दर्ता गरेको बताउनुभयो । आफूले राजीनामा नदिएको ठोकुवा गर्दै उपाध्यक्ष बिष्टले योजनावद्ध षडयन्त्र गरी फसाउन खोजिएको बताउनुभयो । करिब एक वर्षअघि ढुंगा, गिट्टी र बालुवा अनुगमनका क्रममा भएको घटनाले इगो लिएर आफूमाथि कर्मचारीले नै षडयन्त्र गरी पत्र दर्ता गरिएको उहाँको दाबी छ ।

आइतबार कार्यालय समयमा उपाध्यक्ष बिष्टले भने आफूले दिँदै नदिएको राजीनामा कसरी स्वीकृत हुन्छ भन्ने प्रश्न गर्नुभयो । अध्यक्ष उप्रेती र उपाध्यक्ष बिष्टका यी दुई भनाइले अन्यौलता सिर्जना गरेको छ । ‘पालिका अध्यक्ष बुबासरह हुनुहुन्छ । मैले उहा“लाई यस विषयमा सोध्दा भ्रामक समाचार आएको हो भन्दै अध्यक्षले विज्ञप्ति जारी गर्दै मिडियालाई भ्रामक समाचार नलेख्न आग्रह गर्नुभयो ।

तर, आज आएर किन राजीनामा स्वीकृत भयो भन्दै समाचार दिइयो । ममाथि षडयन्त्र भएको छ,’ उपाध्यक्ष बिष्टले भन्नुभयो–म जनताले अभिमत दिएर जनप्रतिनिधि भएकी हुँ । जनतालाई घात हुने कार्य हालसम्म गरेकी छैन । यस्तै हो भने जनतामा गएर लम्पसार पर्छु । जनताको साथ लिएर यस विषयमा कानुनी प्रक्रियामा जानेछु ।

देशको राजनीतिक अस्थिरता, पार्टी गुटमा रहेको बेला आफू कुनै गुट नभएर कम्युनिष्ट विचारधारमा रहेको तर यहाँ त्यसको प्रभावले आफूमाथि यस्तो व्यबहार देखिएको हो कि भन्ने शंका रहेको उपाध्यक्ष बिष्टले पत्रकार सम्मेलनमा भन्नुभयो । ‘मैले मनहरीबासीलाई घात गर्ने कुनै कुरा हुँदैन । मैले राजीनामा दिएको भन्ने कुरा सत्प्रतिशत भ्रामक र कपोकल्पित हो,’ उपाध्यक्ष बिष्टले पत्रकार सम्मेलनमा भन्नुभयो । ‘मैले उपाध्यक्षबाट राजीनामा दिएर भाग्नुपर्ने कुनै गलत काम गरेकी छैन,’ उहाँको कथन छ ।

उपाध्यक्ष बिष्टले दिएको राजीनामा १७ गते दर्ता भएको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिनुभयो ।
राजीनामा स्वीकृत भएको भनिएको विषय अब अध्यक्ष एकराज उप्रेती वा उपाध्यक्ष मनिला बिष्टको मात्रै रहेन । यो नेपाल कम्युनिष्ट पार्टीको फुटसँग जोडिएर अघि बढ्यो । फुटसँगै ओली पक्षतिर लागेका उप्रेतीले २० दिनपछि राजीनामा स्वीकृत भएको खबर सार्वजनिक हुनुलाई फुटकै असरको रुपमा हेरिएको छ ।

उपाध्यक्ष पार्टी फुटपछि कुनै पनि गुटमा खुल्नुभएको छैन । उहाँ पूर्वएमाले पक्षकै सल्लाहमा आफू रहने बताउँदै आउनुभएको छ भने अध्यक्ष उप्रेती मनहरीमा आयोजित पूर्वएमालेको भेलामा अतिथि, हेटौंडामा आयोजित मोर्चा संगठनहरुको भेलामा अतिथि हुनु भएको थियो ।

राजीनामा ‘स्वीकृति’ को पछाडि राजनीतिक असर परेको त होइन भन्ने प्रश्न पनि खडा हुन थालेका छन् । कुनै दिन राजीनामा पालिकाको कार्यालयमा आउँदै नआएको बताउने अध्यक्ष उप्रेतीले शुक्रबार कसरी राजीनामा स्वीकृत गरे भन्ने कुराले यतिबेला माहोल फेरिएको छ ।

पालिकाका एक जिम्मेवार व्यक्ति भएर यदि राजीनामा पेश गरिएकै थियो भने किन गुपचुप राख्ने प्रयास गरियो । अनि, त्यस समयमा लुकाइएको राजीनामा झण्डै २ हप्तापछि किन स्वीकृत भयो भन्ने विषयले सरोकारवालालाई चकित बनाइदिएको छ ।
यी घटनाक्रमले गाउँपालिकाभित्र बेथिति प्रष्ट्याउँछ । कर्मचारी अभावका कारण खासगरि पशु, कृषि शाखाको प्रगतिमा क्षेत्रको विकासमा सुधार हुन सकेको छैन । गत आर्थिक वर्षमा कृषिको १ करोड बजेट फ्रिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्