खोलाको ग्य्राबेल बिक्रीमा नगरपालिकाले नै गर्‍यो राजश्व रकम छलि



सञ्जय कार्की, रौतहट ।

यहाको एक नगरपालिका बाट नदिजन्य पदार्थको बिक्री गर्दा संकलन गर्नु पर्ने राजश्व रकमनै छली गरेको पाइएको छ । रेल बिभागको पत्रको आधारमा बृन्दाबन नगरपालिका द्धारा गएको असोज २५ गते बसेको कार्यपालिकाको बैठकले रौताहा/हिमडुङ्ग–ठोकर/कन्काई जेभि लाई ५० हजार घनमिटर ग्य्राबेल निकासीको लागि अनुमति दिएपनि कर्मचारीको मिलोमतोमा १ लाख ८० हजार भन्दा बढि घनमिटर ग्य्राबेल निकासी गरेको पाइएको छ ।

सो कन्स्ट्रक्सनले चन्द्रपुर नगरपालिका–८ मा रेलवे स्टेशन निर्माण गर्दै आएको छ । प्रटि टिफर ३ हजारको दरले राजश्व रकमको रसिद काटनु पर्नेमा बृन्दाबन नगरपालिकाको कर्मचारी सहितको मिलोमतोमा दैनिक ८ देखि ११ पटक सम्म ग्य्राबेल ढुवानी गर्ने टिफरको एक देखि २ पटक मात्र राजश्व रसिद काटेर बाकी राजश्व रकम लुकाएको पाइएको छ । एक पटक राजश्व रसिद काटिसकेपछि दिनभर ढुवानी गर्ने सोही टिफरको बाकी टिप भने रजिष्टरमा टिप्ने गरेको पाइएको छ ।

दैनिक चल्ने एक टिफरले ७ पटक ढुवानी गर्दा संकलन हुनु पर्ने २० हजारको दरले राजश्व रकम लुकाएको पाईन्छ । संकलन हुनु पर्ने राजश्व रकमको तीन गुणा बढि राजश्व रकम लुकाएको पाइएको छ । ०७७ साउन ५ गते नेपाल सरकार मन्त्रिपरिषदको बैठक बाट स्वीकृत ढुङ्गा, गिट्टी, तथा बालुवा उत्खनन, बिक्री तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड ०७७ अनुसार स्थानीय तह लाई अधिकार दिएपछि कर्मचारीकै मिलोमतोमा राजश्व रकम हिनामिना हुने गरेको पाइएको छ । सोही अधिकारको प्रयोग गर्दै बृन्दाबन नगरपालिकाले बिना प्रतिस्पर्धा रेल बिभागको पत्रको आधार देखाउदै निर्माण ब्यबसायी लाईनै ढुवानी अनुमति दिएर राजश्व रकम हिनामिना गरेको पाइएको छ ।

बृन्दाबन नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादबले कार्यपालिकाकै बैठक बाट भएको निर्णय कार्यान्वयन गरिएको बताउनु भयो । बृन्दाबन नगरपालिकाले लक्ष्मिपुर घाट, बलुवा मदनपुर घाट, समनपुर घाट र हरैया घाट बाट नदिजन्य पदार्थको उत्खनन र ढुवानी अनुमति दिएपनि निर्माण ब्यबसायीले भने अन्य स्थान बाट उत्खनन र ढुवानी गर्दै आएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्