नयाँ वर्षमा द भाइब्जको निराकार



न्युज अफ नेपाल, काठमाडौं ।

लोकप्रिय नेप्लिज अमेरिकन रक ब्यान्ड द भाइब्ज ब्यान्डले अंग्रेजी नयाँ वर्षको सांगीतिक उपहारस्वरूप एक रोमान्टिक म्युजिक भिडियोसहित नयाँ गीत सार्वजनिक गरेको छ। ब्यान्डले अंग्रेजी नयाँ वर्ष सन् २०२१ का अवसरमा निराकार बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेको हो। भाइब्जको नयाँ गीतले भन्छ– ‘निश्चल निराकार मन मेरो कहिले दौडन्छ कहिले थामिन्छ, हर स्थिरतामा गतिशीलतामा हर क्षण हरपल हर क्षण आभास तिम्रै। अमेरिकाका विभिन्न रमणीयस्थलमा छायांकन गरिएको म्युजिक भिडियोमा ब्राजिलियन र भारतीय मोडलले अनस्क्रिन रोमान्स गरेका छन्।

यसमा ब्राजिलका क्रसफिट ट्रेनर किको नासिमान्टो र अमेरिकाको सान फ्रान्सिस्कोमा बस्दै आएकी भारतीय व्यावसायिक मोडल शालिनी श्रीवास्तवले अनस्क्रिन रोमान्स गरेका छन्। नेपालमा एक दशकभन्दा लामो समयसम्म म्युजिक भिडियो निर्देशन गरी हाल सान फ्रान्सिस्कोमा बस्दै आएका सुरज शाहको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा छायांकन र सम्पादन पनि उनकै रहेको छ। म्युजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

संगीत, संगीत संयोजन, मिक्सिङ र भोकल द भाइब्ज ब्यान्डको रहेको गीतमा गीत रचना अर्चना श्रेष्ठ, बाँसुरी मनोज सिंह, अतिरिक्त गितारवादन दीपेन्द्र राई, छायांकन निर्देशन, ड्रोन र कलर विनोद केसी र अमित गुरुङ तथा सहनिर्देशन मनोज केसी र रोहित क्षत्रीको रहेको छ।

द भाइब्ज ब्यान्डले केही अघि विजयादशमीको अवसर पारेर मात्र तिमी बोलको गीत सार्वजनिक गरेको थियो। द भाइब्ज ब्यान्ड अमेरिकाको सान्ता रोजामा रहेका उत्साहित सांगीतिक युवाहरुले स्थापना गरेको ब्यान्ड हो। ब्यान्डले गठन भएको ४ वर्षको मेहनतपछि स्तरीय नेपाली रक गीत–संगीत समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेसन नाममा रक गीतिअडियो एल्बम सार्वजनिक गरेको थियो।

पहिलो एल्बमबाटै वाहवाही पाए पनि स्तरीय गीत–संगीतमा मात्र विश्वास राख्ने ब्यान्डले दोस्रो एल्बम सार्वजनिक गर्नका लागि अर्को ४ वर्ष लगाएको थियो र सन् २०१३ मा दोस्रो एल्बम को हुँ म बजारमा ल्याएको थियो। पहिलो एल्बम ल्याएलगत्तै सन् २००९ को हिट्स एफएम अवार्ड र इमेज अवार्ड चुमिसकेको द भाइब्ज ब्यान्ड संगीत क्षेत्रमा केही गर्ने उच्च महत्वकांक्षाका साथ मुख्यतया ३ उत्साही युवाले गठन गरेका थिए।

ब्यान्डमा दिरेकललाल श्रेष्ठ ड्रमर, प्रइन सिंह भोकलिस्ट र रूपक लामा गितारिस्ट रहेका छन्। ब्यान्डले खै के भो, थाकी सकें, त्यही पल, आमा, फसें म र हाम्रो तारा बोलका गीतमाथिको म्युजिक भिडियोमाफत समेत ख्याति आर्जन गरिसकेको छ।

हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्