गुणस्तर सुधारमा भक्तपुर अस्पताल अग्रस्थानमा



पुष्कर बुढाथोकी

भक्तपुर  ।

भक्तपुर अस्पताल यस बर्ष प्रदेश अस्पतालहरुमा उत्कृष्ट अस्पताल हुन सफल भएको छ । शुक्रवार अस्पतालमा आयोजित अस्पताल व्यवस्थापन सुदृढिकरण अन्तर्गत न्युनतम सेवा मापदण्ड कार्यान्वन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल मध्ये अग्रपङ्तिमा उभ्भिन सफल भएको घोषणा गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको न्युनतम सेवा मापदण्डमा अस्पतालहरुको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्ने क्रममा आएको एक सरकारी मूल्यांकन टोलीले मूल्यांकनको मापदण्ड अनुसार दिएको नम्बरको आधारमा भक्तपुर अस्पतालले सबैभन्दा धेरै नम्बर प्राप्त गरेको हो । उक्त मूल्यांकन टोलीले भक्तपुर अस्पतालले न्युनतम सेवा मापदण्डमा दु्रत गतिमा प्रगती गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएको पुष्टि गरेको हो । अस्पतालको स्थलगत अवलोकन र मूल्यांकनमा भक्तपुर अस्पतालले ८२ अंक प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको बागमती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ट स्वास्थ्य प्रशासक डाक्टर अर्जुन सापकोटाले बताउनुभयो ।

गत वर्ष यस्तै मूल्यांकनमा भक्तपुर अस्पतालले आफ्नो खराव अवस्थाका कारण ३८ अंकमा चित्त बुझाउनु परेको थियो । अस्पतालको सफलतासँगै कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी पनि दंग देखिएका छन् ।बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीले अस्पतालको सुधार सबैका लागि गौरवको कुरा भएको बताउँदै यस्तै अबस्था कायम राख्दै थप सफलताका लागि लागिपर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।स्वास्थ्य सेवा बिभाग नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनी तुईतुईले कार्यक्रम र थप बजेट खोज्दै उत्कृष्ट सेवालाई निरन्तरता दिनुपर्ने र अझ उचाईमा पुर्याउन अस्पतालको सिंगो परिवार लाग्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट डा रोशन न्यौपानेले भक्तपुर अस्पताल भक्तपुरबासीको अस्पताल मात्र नभई स्वास्थ्य सेवाका लागि उपत्यकाका जनताको रोजाइको अस्पताल बन्ने पर्याप्त आधार देखिएको बताउनुभयो ।भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले भक्तपुर अस्पतालको सेवा प्रवाहबारे प्रस्तुतीकरण राख्दै अस्पतालको पहिले र अहिलेको अवस्थाबारे सचित्र अवगत गराउनुभयो । गरे सम्भव हुने आफ्नो अनुभव साट्दै उहाँले सम्पूर्ण स्टाफ, संचालक समिति, जनप्रतिनिधि र सबै तहका सरकारका सहयोगका कारण एक वर्षमै भक्तपुर अस्पतालले आफूलाई सुधार गर्न सकेको भन्दै सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाएर लैजाने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले केही वर्ष अघिसम्म बिरामीको उपचार गर्न नसकी आफै बिरामी रहेको अस्पताल अहिले भने विश्वास गर्न लायक भएको भन्दै खुसी ब्यक्त गर्नुभयो ।अस्पतालका शाखा अधिकृत राजेन्द्र नेपालले संचालन गरेको कार्यक्रमको अध्यक्षता भने भक्तपुर अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्य एवं भक्तपुर नगरपालिकाका वडाध्यक्ष रवीन्द्र ज्याख्वाले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै ज्याख्वाले बिगतमा भक्तपुर अस्पतालको दुरावस्थादेखि वाक्क भएर नगरपालिकाले छुट्टै ख्वप अस्पतालको अवधारणा ल्याएको भन्दै अस्पतालको अवस्था पहिल्यै यस्तो भएको भए ख्वप अस्पताल नै नचाहिने उल्लेख गर्नुभयो ।

भक्तपुर अस्पतालको गत वर्षको अंकले निरास बनेपनि यस वर्षको प्रगतीले सबैलाई हर्षित बनाएको भन्दै उहाँले यसलाई कायम राख्नु र थप प्रगती गर्नु अस्पतालको लागि चुनौती थपिएको बताउनुभयो ।कार्यक्रममा स्वास्थ्य मन्त्रालयका बरिष्ठ औषधि ब्यबस्थापक पान बहादुर क्षेत्री, धादिङ्ग अस्पतालका मेसु डा त्रिभुवनचन्द्र झा, जनस्वास्थ्य निरीक्षक रेवती थापा, एनएसआई का कार्यक्रम अधिकृत शुशिल बस्नेत , अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी लगायतको सहभागिता रहेकोथियो ।

भक्तपुर अस्पतालमा प्रशासनिक नेतृत्व गरिरहेकी डा सुमित्रा गौतमको अथक सकृयता र उहाँको अस्पताल संचालन तथा विकाश समितिको नेतृत्व गरिरहेका मिलन सुवालसँगको तालमेलसंगै भक्तपुर अस्पतालले स्थापना र संचालनको इतिहासमै ठूलो विकाश गरेको हो । अस्पताल संचालनको ११६ वर्षपछि भक्तपुर अस्पताल आइसीयु सेवा दिन समेत सफल भएको छ । आधा दर्जन भेन्टिलेटरसहित आइसीयु सेवा संचालन गर्न सफल भएपछि अस्पतालको साख ह्वात्तै बढेको देखिन्छ भने अझै २ दर्जन बेडसहित अस्पतालले एचसीयु संचालन गरेको छ ।
भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरी समेत शुरु भएको छ ।

यस अघि रिफर सेन्टरको रुपमा बदनामी कमाएको अस्पताल अहिले विरामीको पहिलो रोजाइ बन्न सफल भएको देखिन्छ । यस अघि भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल सावित भएको थियो । गत कात्तिकमा प्रदेशभरीको अस्पतालबाट छनौट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताललाई सामाजिक विकास मन्त्रालयले पुरस्कृत समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्