धुलिखेलमा राष्ट्रिय विभुती बलभद्रको शालिक सहितको पार्क



मोतीराम तिमल्सिना, काभ्रे ।

नेपालका राष्ट्रिय विभूति बलभद्र कुँवरको शालिक सहितको पार्क धुलिखेल नगरपालिकाले वडा नम्वर ९ देविस्थानमा निर्माण गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको साविक भमरकोटमा उनको जन्म भएको ईतिहासमा उल्लेख छ । ‘काभ्रेपलाञ्चोक जिल्ला अथार्त नेपालको इतिहास राख्न सफल नेपालका राष्ट्रिय विभूति बलभद्र कुँवरको शालिक निर्माण गरी राष्ट्र निर्माणमा उहाँले पु¥याएको योगदानको स्मरण गरेका हौं’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘नगरपालिकाको आर्थिक सहयोग, नेपाली सेना विष्णु दल गण र स्थानीय उपभोक्ता समितिको तर्फबाट जनश्रमदान गरी पार्क सहितको शालिक निर्माण गरेका हौं ।

यसले देश निर्माणमा योगदान पु-याउने ब्यक्तिहरुको योगदानको कदर गरेको छ ।’ धुलिखेल नगरपालिकाले पर्यटकिय नगरका रुपमा विकास गर्न पाँच वर्षमा ६५ वटा पार्क निर्माण गर्ने लक्ष्य सहित ३६ वटा पार्क निर्माण सम्पन्न गरिसकेको छ । ‘सामाजिक रुपान्तरण र एकता कायम गर्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्रको मात्रै नभई ब्यक्तिहरुको पनि स्मरणका लागि शालिकहरु निर्माण गरिएको छ’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘पूर्खाहरुले साहित्य, कला, संगित, विरता प्राप्त गरी मुलुक निर्माणमा पु¥याएको योगदानको स्मरण गरिने छ ।’

पुर्खाहरुलाई सम्झने र भावि पुस्तालाई हौसला प्रदान गर्ने गरी नगरपालिकाले कार्य गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । सोहि स्थानमा निर्माण भएको शालिक सहितको पार्कले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आर्कषण गरेको छ । देविस्थानमा पृथ्वीनारायण शाहको शालिक सहितको पार्क निर्माण भईरहेको छ ।

२० लाख रुपैया नगरपालिकाले विनियोजन गरेको पार्कमा उपभोक्ता र नेपाली सेना विष्णु दल गणको जनश्रमदान रहेको उपभोक्ता समितिका अध्यक्ष गोकर्ण चौलागाईले बताउनु भयो । ७ लाख रुपैया ढलौटको मुर्तिलाई खर्च भएको अध्यक्ष चौलागाईले बताउनु भयो ।

उपभोक्ता समितिमा उपाध्यक्ष सहदेव रानाभाट, कोषाध्यक्ष उमेश न्यौपाने, सचिव रेनुका हमाल रहनु भएको थियो । शालिक अनावरण कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुवेदी, वडा अध्यक्ष निराजन जंगम लगायतले पार्क निर्माण र पर्यटकिय क्षेत्रको विकासका साथै इतिहास रच्ने ब्यक्तिको सम्मान भएको बताउनु भएको थियो ।

को हुन् बलभद्र कुँवर ?

काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिकामा पर्ने भमरकोटमा सुब्बा चन्द्रवीर कुँवर र अम्बिका देवीका कान्छा छोराको रूपमा बलभद्र कुँवरको विक्रम सम्वत १८४५ पुष १५ गते भएको थियो । उनको बुवापट्टिका हजुरबुवा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुवा अमरसिंह थापा हुन् ।

त्यसैले काजी रणजोर थापा उनका मामा हुन् । बलभद्र कुँवर बहादुर नेपाली स्वतन्त्रता सेनानी एवम नेपाली सेनाका कप्तान थिए । उनी नेपालका एक राष्ट्रिय विभूति हुन् । सन् १८७१ देखी १८७२ को बीचमा चलेको गोरखा युद्ध पछि उनी प्रसिद्ध भएका थिए ।

बलभद्र कुँवर नेपाली सेना (तत्कालिन गोरखाली सेना) को पुरानो गोरख गणको कप्तान थिए । उनले देहरादुनको बाहिर नालापानीको युद्धमा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए । नेपाल ब्रिटिस युद्धमा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालीको हातबाट मारिए ।

उक्त युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो । उक्त युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालीहरूको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरेको थियो ।

१८१४ अक्टोबर २२ का दिन लेफ्टिनेन्ट जनरल जिलेस्पि दुन उपत्यका प्रबेश गरेका थिए । उक्त इलाकाको रक्षार्थ पुरानो गोरख गणका कप्तान बलभद्र कुँवरलाइ जिम्मा लगाइएको थियो । दुन उपत्यका भन्दा झण्डै ८ किमी उत्तरको उच्च स्थानमा रहेको खलङ्गामा किल्ला बनाइएको थियो ।

बलभद्र कुँवरको मृत्यु पञ्जाबी राजा रणजीत सिंहको लागि पेशावर, पञ्जाबमा लड्दा अफगानी फौजको तोपले भएको थियो । बलभद्र कुँवर नेपालका राष्ट्रिय विभूति हुन् । उनको निधन विक्रम सम्वत १८७९ चैत्र २८ गते भएको थियो ।

प्रतिक्रिया दिनुहोस्