आईसीयूबाटै कोरोना संक्रमित बेपत्ता



बुटवल, (नेस)
बुटवलस्थित कोरोना विशेष अस्पतालबाट एक जना कोरोना संक्रमित बेपत्ता भएका छन् । कोरोना पुष्टि भएसँगै गत बुधबार बिहान अस्पतालको आईसीयूमा भर्ना भएका बुटवल–१३ का ५५ वर्षीय पुरुष बेपत्ता भएका हुन् । शौच गर्न शौचालय गएका ती संक्रमित शौचालयबाटै जङ्लतिर भागेको अस्पतालले पुष्टि गरेको छ ।
अस्पतालका कर्मचारी र कुरुवाहरुले केहीबेर पिछा गरे पनि राजमार्ग पार गरेर जङ्ल पसेपछि नियन्त्रणमा लिन नसकिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
घटनाको विषयमा अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराएको र उनको खोजी गर्नेे क्रममा योगी कुटीस्थित एक होटलमा पुगेर परिवारलाई फोन गरेको पत्ता लागेको अस्पतालले जनाएको छ । भर्ना हुने बेलामा नै परिवारका सदस्यले मानसिक रोगको औषधी सेवन गरिरहेकाले निगरानी गरिदिन अनुरोध गरेअनुसार उनलाई निगरानीमा राखिएको डा. गौतमले बताउनुभयोे ।
बिहान ५ बजे उनी जङ्लतर्फ लागेको अस्पतालले जनाएको छ । संक्रमितका आफन्तले भने अस्पतालको लापरबाहीका कारण उनी हराएको आरोप लगाएका छन् ।
आईसीयूमा भर्ना भएका संक्रमित पिसाब फेर्न बाहिर आउनै नसक्ने संक्रमितकी श्रीमतीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘बेडमा चढाइएको सलायन नफेरेर सबै रगत फक्र्यो, मलाई मार्ने भए, मलाई लिन आऊ भनेर फोन आएको थियो, हामीले भोलि डाक्टरसँग सल्लाह गरेर आउँछौं भन्यौं ।’
बिहान जाँदा बेपत्ता भएको थाहा पाएको संक्रमितकी श्रीमतीको भनाइ छ । श्रीमान्को मोबाइल नउठेपछि बिहान फोन गर्दा अस्पतालका कर्मचारीले आफूसँग झुट बोलेको उहाँको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्