करोड लागतमा कृषि फार्म सञ्चालन



बागलुङ ।

गलकोट नगरपालिका–५ हरिचौरका टोपबहादुर खत्रीलाई केही वर्षअघिसम्म आर्थिक उपार्जनका लागि कुन पेशा अपनाउने भन्नेमा द्विविधा थियो । कमाउन विदेश जाने चक्करले पनि उहाँलाई नअल्मलाएको होइन । अन्ततः सोचीसम्झी खत्री नयाँ निर्णयमा पुग्नुभयो–उत्पादनमा लाग्ने, आत्मनिर्भर बन्ने ।

उहाँको त्यो लक्ष्य ‘दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्म’मार्फत अब पूरा हुँदैछ । व्यावसायिक कृषिमार्फत आर्थिक समृद्धिमा टेवा दिने कार्कीको योजनामा सोही नगरपालिका–७ मल्मका छुमबहादुर थापाको समेत साथ छ । नाताले साला-भेना पर्ने थापा र खत्री मिलेर कृषि र पशुपन्छीपालनमा लगानी भित्र्याउनुभएको हो । झण्डै रु एक करोडको लागतमा अहिले फार्मको पूर्वाधार बनाउने काम धमाधम भइरहेको छ । “आउँदो माघ अन्तिमसम्ममा फार्म सञ्चालनमा आउँछ”, खत्रीले भन्नुभयो, “संरचना निर्माणको काम अन्तिम चरणमा छ ।”

गलकोट नगरपालिकाको केन्द्र वडा नं ६ स्थित मजुवाँफाटको २४ रोपनी जग्गा फार्मले ओगटेको छ । फार्ममा तरकारी खेती, माछा, बङ्गुरलगायत विभिन्न प्रजातिका कुखुरा र पन्छीपालन गर्ने योजना छ । तरकारी खेतीका लागि छ वटा टनेल र माछापालनका लागि पाँच वटा पोखरी निर्माण भइसकेका छन् ।

यस्तै २०० बङ्गुर, एक हजार गिरीराज र कोइलर, ५०० स्थानीय जातका कुखुरापालन गर्ने गरी संरचना निर्माणको काम भइरहेको छ । पाँच सय बट्टाइ, १०० लौकाट र हाँस पनि पाल्ने योजना छ । गिरीराज र कोइलर जातको कुखुरा चल्ला उत्पादन र बिक्रीका लागि पाल्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्