हेटौंडामा दोस्रो पटक मूर्तिकला कार्यशाला



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा—१८ को हर्नामाडीमा ८ दिन चल्ने मूर्तिकला कार्यशाला सुरु भएको छ । ज्योति माध्यमिक विद्यालयको ५४ औं वार्षिक उत्सवको अवसरमा आइतबारबाट ‘कलाका लागि कला’ भन्ने नारासाथ कार्यशाला सुरु भएको हो । वडा अध्यक्ष अनिल बानियाँले कार्यशाला उद्घाटन गरेका थिए ।

विद्यालयको पञ्चकन्या भवनस्थित माध्यमिक तहमा आगामी शैक्षिक सत्रदेखि ललितकला विषयअन्तर्गत् मूर्तिकला र चित्रकला कक्षा सञ्चालनलाई लक्षित गरेर कार्यशाला सुरु गरिएको हो । कार्यशालामा राष्ट्रिय कलाकार लक्ष्मण भुजेलसहित स्थानीय र राष्ट्रिय कलाकारको सहभागिता छ ।

यस कार्यले हर्नामाडीलाई कलाको केन्द्रमात्र नभएर मकवानपुरलाई परिचित गराउने विद्यालय व्यबस्थापन समिति अध्यक्ष हर्क रम्तेलको भनाइ छ । यसका लागि करिब साढे दुई लाख खर्च अनुमान छ । यसले काठमाडौंबाहिर फाइन आर्ट कलेजको रुप छिट्टै धारणा गर्ने विद्यालयको अपेक्षा छ ।

कार्यक्रममा विद्यालय पूर्वअध्यक्ष नरहरि महत, वडा सदस्य तोयनाथ तिमल्सिना, ज्योति सामुदायिक बन उपभोक्ता समिति अध्यक्ष रामबाबु खतिवडा, पूर्वशिक्षक रामशरण बानियाँ, रामचन्द्र भुजेल, विद्यालयका जग्गादाता रवीन्द्रबहादुर सुर्खेती, शिक्षक–अभिभावक संघ अध्यक्ष जयबहादुर मोक्तान, पूर्वप्रधानाध्यापक शरद् श्रेष्ठ, गोरक्षनाथ मावि अध्यक्ष शैलेन्द्रराज बानियाँलगायतको उपस्थिति थियो ।

मूर्तिकलाको विकास र विस्तारका लागि २०६९ सालमा मकवानपुरको हेटौंडा—१८, हर्नामाडीमा प्रथम अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला भएको थियो । कार्यशाला आयोजना नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, ‘आरम्भ’ समसामयिक मूर्तिकार समूह, पर्यापर्यटकीय पार्क हर्नामाडी र तत्कालीन जिल्ला विकास समिति मकवानपुरले मंसिर ११ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेका थिए ।

कार्यशालामा सहभागी कलाकार जापानका सुगिमोतो जुनीचिरो, इटलीका बेटिनो फ्रान्सेली, कोरियाका सिम जुङ सु फ्रान्सकी लेतिचिया दी बजालरे र चीनका ल्यु योङलगायत नेपालका १८ जना मूर्तिकार ओम खत्री, नागेन्द्र राजभण्डारी, सुदर्शनविक्रम राणा, नरेन्द्रप्रसाद भण्डारी, राजु पीठाकोटे, विष्णुप्रसाद श्रेष्ठ, बैकुण्ठमान श्रेष्ठ, शारदामान श्रेष्ठ, राजन काफ्ले, गोबिन्द चौधरी, बुद्ध थारु, ओमभक्त भण्डारी, बाबुलाल वाइबा, गंगाधर सारु, पूर्णकाजी शाक्य, लक्ष्मण भुजेल, प्रकाश शाक्य, चन्द्रश्याम डंगोल र १० जना कलेजका विद्यार्थी सहयोगीलगायत स्वयम्सेवक थिए ।

प्रतिक्रिया दिनुहोस्