शेयर कारोबारमा ब्रोकर कमिसन घट्यो



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई तिर्दै आएको कमिसन रकम घटाएको छ । बोर्डले आइतबारदेखि लागू हुने गरी शेयर, ऋणपत्र र सामूहिक लगानी कोषको इकाई खरिद बिक्रीमा तिर्नुपर्ने ब्रोकर कमिसन घटाएको हो । शेयर कारोबार वृद्धि हुँदै गएको अवस्थामा ब्रोकर कमिसन धेरै भएको भन्दै लगानीकर्ताले घटाउन बोर्डलाई दबाब दिँदै आएका थिए । लगानीकर्ताको मागको सुनुवाई गर्दै बोर्डले कमिसन रकम घटाएको छ । तर, बोर्ड आफू र बजार संचालकलाई बेफाइदा नहुने गरी कमिसनको दर परिवर्तन गरेको बताइएको छ ।

बोर्डले साना लगानीकर्तासँग कारोबार सेवावापत लिँदैं आएको न्यूनतम शुल्कमा ६० प्रतिशत, सरकारी तथा संस्थागत ऋणपत्र र सामूहिक लगानी कोषको इकाई कारोबार शुल्कमा ५० प्रतिशत र संगठित संस्थाहरुको शेयर खरिद बिक्री कारोबारमा लिँदैं आएको शुल्कमा ३३ प्रतिशत कम हुने गरी ब्रोकर कमिसन घटाएको जनाएको छ । बोर्डको नयाँ निर्देशिका अनुसार अब लगानीकर्ताले ५० हजार रुपियाँसम्मको शेयर कारोबारमा शून्य दशमलव ४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपियाँसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपियाँसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपियाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत र एक करोडभन्दा माथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशत ब्रोकर कमिसन कायम गरेको छ ।

यसअघि शेयर कारोबार गर्दा शून्य दशमलव ४० प्रतिशतदेखि शून्य दशमलव ६० प्रतिशतसम्म कमिसन तिर्नुपर्ने व्यवस्था थियो । त्यस्तै सरकार वा सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा संस्थागत ऋणपत्रको खरिद बिक्री गर्दा ५ लाखसम्ममा शून्य दशमलव १० प्रतिशत, ५ लाखदेखि. ५० लाखसम्ममा शून्य दशमलव शून्य ५ प्रतिशत र ५० लाखभन्दा माथिको जतिसुकै कारोबारमा शून्य दशमलव शून्य २ प्रतिशत ब्रोकर कमिसन बोर्डले निर्धारण गरेको छ ।

यसअघि ५ लाखसम्मको ऋणपत्र काराबोरमा शून्य दशमलव २० प्रतिशत, ५ लाखभन्दा माथि ५० लाखसम्मको कारोबारमा शून्य दशमलव १० प्रतिशत र ५० करोडभन्दा माथि शून्य दशमलव शून्य ५ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था थियो । साथै सामूहिक लगानी कोषको ५ लाखसम्मको इकाई खरिद बिक्रीमा शून्य दशमलव १५ प्रतिशत, ५ लाखदेखि ५० लाखसम्मको कारोबारमा शून्य दशमलव १२ प्रतिशत र ५० लाखभन्दा माथि शून्य दशमलव १० प्रतिशत ब्रोकर कमिसन तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्