अर्बपतिद्वारा माइकल ज्याक्सनको घर खरिद



न्युयोर्क, (एजेन्सी)

अमेरिकाका स्वर्गीय पपस्टार माइकल ज्याक्सनको विशाल र भव्य नेभरल्यान्ड फार्म शुरूमा तोकिएको भन्दा एकचौथाइ मूल्यमा एक अर्बपतिलाई बेचिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ज्याक्सनकै पूर्वमित्र रोन बर्कलेले क्यालिफोर्नियाको लस ओलिभोसस्थित यो इस्टेट हालै खरिद गरेको उनका प्रवक्ताले बताएका छन् । सरकारी अभिलेख र यस सम्पत्ति बिक्री सम्झौताका तीनजना जानकार व्यक्तिलाई हवाला दिँदै ‘दि वाल स्ट्रिट जर्नल’ले नेभरल्यान्ड २ करोड २० लाख अमेरिकी डलरमा बिक्री भएको पुष्टि गरेको छ ।

एक हजार एक सय हेक्टर जमिनमा फैलिएको यो इस्टेटको मूल्य सन् २०१५ मा १० करोड डलर राखिएको थियो । त्यतिबेलादेखि नै सान्टा बारबारा शहरको उत्तरी भागमा रहेको नेभरल्यान्डको मूल्य बजारमा घटबढ हुँदै आइरहेको थियो । गत वर्ष यसको मूल्य ३ करोड १० लाख डलरमा झरेको थियो । ज्याक्सन आफैँले सन् १९८७ मा यसलाई १ करोड ९५ लाख डलरमा खरिद गरेका थिए ।

यसै स्थानमा ज्याक्सनलाई बाल यौन दुराचारको अभियोग लगाइएको थियो । तर, उनले आफूमाथि लगाइएको अभियोग अस्वीकार गरेका थिए । सन् २००५ मा उनले १३ वर्षीय किशोरमाथि यौन उत्पीडन गरेको मुद्दामा सफाइ पाएका थिए । ६८ वर्षीय बर्कले एउटा निजी लगानी कम्पनी युकाइपा कम्पनिज, एलएलसीको सह–संस्थापक तथा व्यवस्थापन साझेदार हुन् । सन् २०२० डिसेम्बरमा अमेरिकी बिजिनेस म्यागजिन ‘फोब्र्स’मा प्रकाशित तथ्यांकअनुसार उनको कुल सम्पत्ति १ अर्ब ४० करोड डलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्