नेपाली क्रिकेटरहरू विदेशी लिगमा खेल्दै 



नेपाल समाचारपत्र, काठमाडौं
कोरोनाभाइरसका कारण खेलाडीलाई अन्योलमा पारेको र भविष्यमा समेत असर गरेको छ । कति खेलका खेलाडीहरू त्यतिकै घरमै बसेका छन् भने कोही अभ्यासमा लागेका छन् । तर, यसै कठिन घडीमा केही खेलाडीले भने खेल्न पाइरहेका छन् । हालै क्रिकेटर सन्दीप लामिछानेले क्यारिबियन प्रिमियर लिगमा खेल्नुका साथै दुबईमा आईपीएलमा सहभागिता जनाए । तर, उनले आईपीएलमा खेल्न भने पाएका थिएनन् ।

यही क्रममा नेपाली राष्ट्रिय क्रिकेटरहरूले पनि गएको साता गौतमबुद्ध कपमा सहभागिता जनाएर कोरोनाको कहरमा पनि खेल्न सकिने सन्देश दिए । यसै कोरोनाको भय–त्रासबाट मुक्त भएर केही खेलाडीलाई नेपालबाहिर गएर खेल्ने अवसर मिलेको छ । ती हुन् तीन क्रिकेटर करण केसी, सोमपाल कामी र कुशल मल्ल । यी तीनै खेलाडीले यूएईमा हुने टी–१० को आगामी संस्करणमा खेल्नेछन् । यूएईमा हुने टी–१० क्रिकेट लिग अर्को वर्ष हुनेछ, जुन जनवरी २८ देखि फेबु्रअरी ६ सम्म आयोजना हुनेछ ।

बुधबार भएको ड्राफ्टमा उनीहरूलाई टी–१० का फेन्चाइज टिमले अनुबन्धन गरेका हुन् । सोमपाललाई मराठा अरेबियन्सले अनुबन्ध ग¥यो भने कुशल आबुधाबी टिममा अनुबन्ध भए । यस्तै करण पुणे डेभिल्ससँग अनुबन्ध भएका छन् । सोमपालको यो दोस्रो विदेशी प्रतियोगिता हो भने कुशल र करणले पहिलोपटक विदेशी प्रतियोगितामा खेल्दै छन् । यसअघि, तीव्रगतिका बलर सोमपालले गत वर्ष सम्पन्न ‘ग्लोबल टी–२०’ मा विनिपेग हक्सबाट खेलेका थिए ।

टी–१० क्रिकेटमा नेपाली खेलाडीहरूका लागि विस्तारै मौका मिलिरहेको छ । गत वर्ष नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले विदेशी लिगमा खेलेका थिए । उनले आबुधाबी टिमबाट खेलेका थिए । यसपटक उनी खेलाडीको भूमिकामा नभई इमर्जिङ टेलेन्ट मेन्टरको भूमिकामा रहनेछन् । यस्तै, नेपाली लेग स्पिनर सन्दीपले दुई संस्करण खेलिसकेका छन् । उनी हाल अस्टे«लियाको घरेलु लिग बिग बाशमा खेल्दै छन् ।

यदि, यी प्रतियोगितामा सोमपाल, करण र कुशलले राम्रो प्रभाव जमाउन सकेमा भविष्यमा विदेशी क्रिकेट लिगमा अरू नेपाली क्रिकेटरहरूको पनि पालो आउन सक्नेछ । नेपालमा प्रतिभावान क्रिकेटरहरूको कुनै कमी छैन । नेपालमा वर्षमा एक–दुई प्रतियोगितामा मात्रै आयोजना हुँदा नेपाली क्रिकेटरहरूको प्रतिभा प्रस्फुटिट हुन पनि पाइरहेको छैन ।

अझ यो कोरोनाले गर्दा नेपाली क्रिकेटरहरूको विभिन्न प्रतियोगितामा सहभागिता जनाउने मौका पनि गुमिरहेको छ । त्यसो त नेपाली क्रिकेट टिमले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक वान डे सिरिज पनि खेल्न गइरहेको छ । सो सिरिज आगामी मार्च १९ दखि २८ सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्