पुसको जाडो र भत्केको छाउगोठ



विमल विष्ट, डोटी

कोरोना कहरका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि पुसको जाडोमा यसले फेरि निरन्तरता पाएको छ । सुदूरपश्चिमका जिल्लाहरुमा छाउगोठ भत्काउन प्रहरी प्रशासन पनि अग्रसर बनेको छ ।

डोटीमा यही पुस १५ गतेबाट पुनः भत्काउन शुरु गरिने योजना भएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । महिनावारी भएका महिलालाई घरैमा छुट्टै बस्ने गरी छाउगोठ भत्काउने अभियान शुरु गर्न थालिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यसै सिलसिलामा डोटीको छिमेकी जिल्ला अछाममा हालै मात्र नौवटा छाउगोठ भत्काइएको छ ।

पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा रहेका नौवटा छाउगोठ भत्काइएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘कोरोना कहरका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिएको थियो, अहिले हामीले पुनः भत्काउन शुरु गरेका छौं, एकै दिनमा हामीले नौवटा छाउगोठ भत्काएका छौं ।’

छाउपडी प्रथा मानेकै कारण दर्जनौं महिलाले अकालमा ज्यान गुमाएको तथा कैयौं किशोरी बलात्कृत भएको जान्दाजान्दै छाउगोठ राखेको पाइएकाले पुनः भत्काउने अभियान शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

रूढीवादी परम्पराका कारण पुसको कठ्यांग्रिँदो जाडोमा पनि भत्केको छाउगोठमै महिलाहरुले रात बिताउन परेको स्थानीयले बताएका छन् । स्थानीय तुलसी शाहीले भन्नुभयो– ‘के गर्नु प्रहरी प्रशासन आएर भत्काएर जान्छ, घरभित्र परिवारले बस्न दिँदैनन्, अनि त्यही भत्काइएको छाउगोठमा कष्टकर रात बिताउनुपर्छ ।’

छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउँछ भन्ने अन्धविश्वासका साथ महिनावारी अर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने चलन रहेको उहाँको भनाइ छ ।

महिनावारी अर्थात् छाउ भएकी महिलालाई पाँचदेखि सात दिनसम्म छुन नहुने तथा घिउ, दूध, दही दिन नहुने तथा दिएमा देउता रिसाएर घरमा अनिष्ट हुने अन्धविश्वास अझै कायमै छ ।

जिल्लामा कुनकुन ठाउँमा छाउगोठ राखिएका छन् त्यसको विषयमा जानकारी लिनका लागि सादा पोसाकमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो– ‘जिल्लाका केही ठाउँमा छाउगोठ छन् भन्ने मौखिक खबर आएको छ, त्यसबारे बुझ्न टोली खटाएका छौँ, टोलीले खबर ल्याउनेबित्तिकै भत्काउन शुरु गछौं ।’

दुई नगरपालिका तथा सात गाउँपालिका गरी कुल नौवटा स्थानीय तह रहेको डोटीमा छाउपडी प्रथा अन्त्य गर्न तथा छाउ गोठ भत्काउनका लागि प्रत्येक वडामा छाउपडीसम्बन्धी जनचेतना जगाउने काम शुरु गरिने सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासंघका अध्यक्ष तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘छाउगोठ हटाउन प्रत्येक वडाका सबै टोल, गाउँमा प्रहरीसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम गर्ने तयारी गरिरहेका छौं, कुरीतिका रुपमा रहेको छाउगोठ मनैदेखि भत्काउन जरुरी छ ।’

मुलुकी अपराध संहिता २०७४ को दफा १६८ (३) मा महिलाहरु रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र तीन हजारसम्म जरिमाना हुने व्यवस्था रहेको भए पनि सुदूरपश्चिममा छाउपडीका नाममा महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने चलन कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्