राप्ती प्रादेशिक अस्पतालमा एकैदिन ८ वटा बैठक बसेको देखाएर झण्डै ६ लाख अनियमितता



यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेश सार्वजनिक लेखा समितिले मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङ स्थित राप्ति प्रादेशिक अस्पतालका कर्मचारीले नियम बिपरीत लिएको ५ लाख ८५ हजार बैठक भत्ता तत्काल अशुल उपर गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

एकै दिन ३ देखि ८ वटा सम्म बैठकमा सहभागि भएको जनाई नियम बिपरीत बैठक भत्ता लिएको भन्दै लेखा समितिले राप्ती प्रादेशिक अस्पताल लगायतका मन्त्रालय मातहतका निकायमा भएको अशुल गर्नुपर्ने रकम तत्काल अशुल उपर गर्न निर्देशन दिएको हो ।

महालेखा परीक्षकको कार्यालयले औल्याएका बेरुजु फछ्र्योट सम्बन्धमा छलफल गर्न बसेको सार्वजनिक लेखा समितिको बैठकमा समितिका सभापती डिल्लीबहादुर चौधरी लगायत समितिका सदस्यहरुले महालेखा परीक्षकको कार्यालयले अशुल उपर गर्नुपर्ने भनि औल्याएको रकम तत्काल अशुल उपर गर्न र फछ्र्योट गर्नुपर्ने बेरुजु फछ्र्योट गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

सामाजिक विकास मन्त्रालयमा बेरुजुको चाङ रहेको भन्दै समितिले वजेट खर्च गर्ने सामान्य सिद्धान्त समेत पालना नगरेको पाइएको समितिका सदस्यहरुले औल्याएका छन ।

बैठकमा सामाजिक विकास मन्त्रालयका सचिव महादेव पन्थले आफु मन्त्रालयमा भर्खरै आएकोले धेरै बिषय बुझ्ने क्रममा रहेको भन्दै महालेखा परीक्षकको कार्यालयले अशुल गर्नुपर्ने जनाएको रकम असुलीको प्रक्रिया तत्कालै सुरु गर्ने र औल्याएका बेरुजु फछ्र्योट गर्दै जाने प्रतिवद्धता जनाउनु भयो ।

समितिका सभापति डिल्लीबहादुर चौधरीको सभापतित्वमा बसेको बैठकमा समितिका सदस्यहरु कूल प्रसाद पोखरेल,बैजनाथ कलवार,बिष्णु पन्थी,वसीउद्दीन खाँ,युवराज खनाल,गीता थापा,कल्पना पाण्डे लम्साल,बिमला शर्मा पन्थीले मन्त्रालयमा बेरुजुको ठूलो हिस्सा रहेको भन्दै तत्काल फछ्र्योट गर्ने व्यवस्था मिलाउन निर्देशन दिनु भएको थियो ।

सामाजिक विकास मन्त्रालय जनतासँग प्रत्यक्ष जोडिने निकाय भएकोले जनताले अनूभूत गर्ने खालका योजना र कार्यक्रम अगाडी बढाउन र बिगतका कमि कमजोरी अन्त्य गर्दै आगामी दिनमा बेरुजु नहुने गरी काम गर्न निर्देशन दिनु भयो ।

कर्मचारी स्थायी सरकार भएकोले कसैको दवावमा परेर अनियमित काम गर्न नहुनेमा समितिको जोड थियो । महालेखा परीक्षकको कार्यालयले लुम्बिनी प्रदेश सरकार अन्तर्गत सञ्चालित योजना तथा कार्यक्रमहरुको ९४ करोड ७३ लाख ७२ हजार रुपयाँ बेरुजु रहेको औल्याएको छ ।

बैडकमा महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक नारायण एमसी,प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीले प्रदेशमा देखिएको बेरुजुको अवस्था र बेरुजु देखिनुको कारणबारे जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्