फलेबासमा ‘टनेल हाम्रो उत्पादन तपाईको कार्यक्रम’ शुरु



न्युज अफ नेपाल, पर्वत
पर्वतको फलेवास नगरपालिकामा ‘टनेल हाम्रो उत्पादन तपाईको’ कार्यक्रम शुरु भएको छ ।
फलेवास नगरपालिकाले कृषकहरुलाई ब्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्धेश्यले यस्तो कार्यक्रम शुरु गरेको हो ।
कृषकहरु गाउँमै बसेर पनि मौसमी तथा बेमौसमि तरकारी उत्पादन गरेर आन्मननिर्भर बन्न सकुन र उनिहरुको आयस्तरमा समेत सुधार आओस भने चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम शुरु गरिएको हो ।
नगरपालिकाका ११ वटै वडाका कृषकहरुलाई प्रत्यक्ष लाभ पुग्नेगरी अनुदानमुलक कार्यक्रम गरिएको हो । यस कार्यक्रम अन्तर्गत नगरपालिकाले स्थानीय कृषकहरुलाई १५ सय रुपैँया बराबर लागत साझेदारी गर्ने भएको छ । कृषकहरुले प्रति टनेलमा १५ सय रुपैया अनुदान पाउने व्यवस्था गरिएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । नगरपालिकाले निश्चित मापदण्ड बनाएर टनेलका लागि आवेदन माग समेत गरेको छ ।
नयाँ कार्यक्रम भएकाले एक सुचना जारी गर्दै ३० दिन भित्र सुचना दिन माग गरेको हो । त्यसैगरी नगरपालिकाले एक वडा एक पशु फार्म र एक वडा एक कृषि फार्मका लागि समेत आवेदन माग गरेको छ । प्रत्येक वडालाई कृषि, पशु, घरेलु उद्योगमा सक्रिय बनाउने उद्धेश्यले अनुदानमा आधारित कार्यक्रमलाई जोड दिईएको शर्माले बताउनुभयो । यस्तो कार्यक्रमवाट आर्थिक अभावमा लगानी गर्न नसकेर बेरोजगार बनेका र विदेशवाट फर्किएका युवा युवतीहरु प्रत्यक्ष रुपमा लाभान्विन हुने नगरपालिकाको विश्वास रहेको छ ।
नगरपालिकाले कृषि फार्म संचालन गर्न इच्छुक कृषक तथा पशु फार्म संचालन गर्न इच्छुक कृषकहरुवाट आवेदन माग गरेको हो । एक वडा एक पशु फार्मका लागि यस वर्ष १० लाख रुपैया बिनीयोजन भएको छ भने कृषि फार्मका लागि पनि १० लाख रुपैया बिनीयोजन भएको छ । नगरपालिकाले हरेक फार्मका लागि ५० प्रतिशतसम्म लागत साझेदारी गर्ने नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।
उक्त फार्म संचालन गर्नका लागि नगरपालिकाले तोके बमोजिमको क्षेत्रफल वा संख्या अनुसारको पशुपालन गर्नुपर्ने छ । यसमा कृषक समुह, कृषि सहकारी र निजि फर्म समेत सहभागि हुने सक्ने प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्