कास्कीले जित्यो गण्डकी प्रदेशको छनोट उपाधि



नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेश छनोटको उपाधि कास्की टिमले जितेको छ ।
बुधबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा कास्कीले नवलपुरलाई ८६ रनले हराउँदै उपाधि जितेको हो । कास्कीले ४ अंक र नवलपुरले २ अंकबाट समूहको अन्तिम खेल खेलेका थिए । दुवै टिमलाई जितकै आवश्यक भएकोमा कास्कीले यसमा बाजी मार्दै उपाधि जितेको हो । अन्य सहभागी दुई टिम तनहुँ र स्याङजाको पनि २÷२ अंक नै रहेको छ ।
कास्कीले पहिले ब्याटिङ गरेर निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय १ रन बनायो । टिमका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ७७ रनको योगदान दिए । यसपछि मध्यक्रमका ब्याटसम्यान सुवास भण्डारीले ३४ रन र कप्तान विपिन खत्रीले ३० रन जोडेका थिए । नवलपुरका बलरमा विशाल पौडेलले २ विकेट लिए भने विज्ञान गौतम, लक्की सापकोटा र हमाल परियारले एक–एक विकेट हात पारेका थिए ।
जवाफमा नवलपुरले ३१ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन मात्रै बनाउन सक्यो । टिमका लागि ओपनर राहुल शर्माले सर्वाधिक ३२ रन जोडे । अन्य शीर्ष ब्याटसम्यान जम्न नसक्दा मध्यक्रमका ब्याटसम्यान सन्देश बस्नेतको नटआउट इनिङले टिमलाई जित दिलाउन सकेन । सन्देश ३ चौकाको सहयोगमा २९ रनमा नटआउट रहेका थिए । कास्कीका बलरमा विपिन खत्री र दीेपेश खत्रीले ३÷३ विकेट हासिल गर्दा सुवास भण्डारीले २ तथा अमृत गुरुङ र देव शाहले एक–एक विकेट प्राप्त गरेका थिए ।
प्रतियोगितामा कास्कीका अर्जुन कुमाल उत्कृष्ट ब्याटसम्यान घोषित भए । त्यस्तै, उत्कृष्ट बलर कास्कीकै सुवास भण्डारी घोषित भएका थिए । प्रतियोगिताका उत्कृष्ट खेलाडीमा पनि सुवासलाई नै छनोट गरिएको थियो । उनले ३ खेलमा ८ विकेट र ५३ रन जोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्