निजी क्षेत्रको एउटै स्वरः संयमतापूर्वक निर्णय गर



नेपाल समाचारपत्र, काठमाडौं
संयमतापूर्वक निर्णय लिन प्रमुख राजनीतिक दलहरूलाई निजी क्षेत्रको अपिल गरेका छन् । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति आफूहरूको ध्यानकर्षण भएको उल्लेख गर्दै निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघले सो अपिल गरेका हुन् ।
संयुक्त अपिल जारी गर्दै ती संस्थाले भनेका छन्–‘निजी क्षेत्र जहिले पनि राजनीतिक स्थिरताको पक्षमा रहेको र निजी क्षेत्रले विगतमा पनि राजनीतिक स्थिरताका लागि बारम्बार सुझाव दिँंदै आएको वास्तविकता हामी सबैका सामुन्ने जगजाहेर छ ।’

राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ–नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सिर्जना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गति लिन सक्ने यथार्थतालाई कसैले पनि भुल्न हुने उनीहरूको भनाइ छ । कोभिड १९ का कारण यसै त मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित रहेको उल्लेख गर्दै राजनीतिक स्थिरता आर्थिक विकाससँंग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले अन्योलता सिर्जना गर्नेमा निजी क्षेत्र शसंकित एवं चिन्तित भएको छ जनाएका छन् ।

भर्खरै चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जीविकोपार्जनमा समेत गम्भीर असर पर्नेमा चिन्ता व्यक्त गर्दै निजी क्षेत्रले बिषम परिस्थितिमा सम्पूर्ण राजनीतिक दलसमक्ष सुझबुझ र संयमतापँर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्