रहेनन् राणाका लागि काँध खियाएका मोक्तान



हेटौंडा, (नेस)

जहानियाँ राणाका लागि मकवानपुरको भीमफेदी–चित्लाङ–चन्द्रागिरि हुँदै थानकोटसम्म गाडी बोकेर इतिहास रच्ने हीराबहादुर घलानको निधन भएको छ । उत्तरी मकवानपुरको थाहानगर–५, पुरण्डीका जिउँदो इतिहास ८९ वर्षीय घलानको मंगलबार राति करिब ११ बजे निधन भएको हो । पक्षघातपीडित उहाँ पछिल्लो समय आफन्तको सहारामा भित्रबाहिर गर्नुहुन्थ्यो ।

थाहानगर–५ कै जुक्तबहादुर वाइबाकोे करिब दुई वर्षअघि निधन भएपछि घलान राणा शासकका लागि गाडी बोकेर काँध खियाउने एकमात्र जीवित पात्र हुनुहुन्थ्यो । गाडीले मान्छे बोक्ने यो समय घलानको निधनसँगै नेपालमा गाडी बोक्नेको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ । वडाकै ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताउनुभयो । बिरामी र वृद्धावस्थाका कारण घलान केही वर्षयता घर छाडेर जान सक्नुभएको थिएन ।

२२ दिन लगाएर गाडी बोकेको ज्याला ९ रुपियाँ लिएर जीवनभर २५ गाडी बोक्नुभएका घलानले १८ वर्षको उमेरमा गाडी बोक्न शुरु गर्नुभएको थियो । करिब सात दशक पहिले हालको जस्तो सडकसुविधा थिएन । त्यस बेला राणा शासकले चढ्ने गाडी त्रिभुवन राजपथ बन्नुअघिसम्म घलानजस्ताले काँध थापेर मकवानपुरको भीमफेदी हुँदै काठमाडौंको थानकोट पु¥याउने गरेको नगर मेयर लवशेर विष्टले स्मरण गर्नुभयो ।

स्थानीय जनप्रतिनिधि चमेली वाइबाले एउटा इतिहास अन्त्य भएको बताउनुभयो ।
फाखेल, मार्खु, सर्वाङ, बिसिङ्खेल, चित्लाङलगायत क्षेत्रबाट भरियाका रुपमा गाडी बोकेर राजा÷महाराजालाई चढाउन तत्पर घलानको निधन भए पनि गाउँपालिकाको बाटोमा उहाँले गाडी बोकेको योगदान कहिल्यै बिलाउन दिन नहुने अर्को छिमेकी इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्