गीतकार नन्दनलाई डेढ लाखको पुरस्कार



गीतकार प्रेम विनोद नन्दनलाई चितवनमा हालै आयोजित एक समारोहबीच १ लाख ५१ हजार राशीको पुरस्कारबाट सम्मानित गरिएको छ। गीतकार संघ नेपालको आयोजना तथा नारायणी कला मन्दिर चितवनको संयोजनमा उद्योग वाणिज्य संघको हलमा सम्पन्न भएको कार्यक्रममा गीतकार नन्दनलाई अमर भावना राष्ट्रिय पुरस्कार–२०७६ बाट सम्मानित गरिएको हो।

सम्मान ग्रहण गर्दै गीतकार नन्दनले सम्मानले थप ऊर्जा र उत्साह थपेको बताए। ‘जीवनमा देखेका–भोगेका विषयलाई गीतमार्फत प्रस्तुत गर्ने जमर्काे गरेको थिएँ’, उनले भने– ‘यति ठूलो सम्मान पाउँला भन्ने कहिल्यै सोचेको थिइनँ।’ ८५ वर्षीय नन्दनका ६ गीतिसंग्रह प्रकाशन भएका छन्। यसका अलावा उनले लेखेका दर्जनौं फुटकर गीत नेपाली फिल्मका लागि रेकर्ड गराएका छन्। त्यसैगरी, यस वर्षको वर्ष गीत पुरकार गीतकार महेश आचार्यको गीत थाहा छैन जिन्दगीमा बोलको गीतले चुम्न सफल भएको छ। आचार्य ५७ हजार नगद राशीसहित वर्ष गीत पुरस्कार–२०७६ प्राप्त गर्न सफल भएका हुन्।

उनीसँगै उत्कृष्ट दशभित्र परेका गीतमा अरुण तिवारीको धेरैले धेरै कथा, किरण टि लिम्बुको अलि–अलि हसाउँदै, दिनेश सुवेदीको ए हेरन कान्छी, प्रकाश दुमी राईको एक जुनी त हो, भूपेन्द्र महतको मेरो सिरानीमै भिजेका, युवराज अधिकारीको आँशु आफैं पिउनू, रमेश दाहालको पूर्वको बादल उड्यो, एचके धितालको यता फाट्छ यतै टाल्छु र डीआर उपाध्यायको आफ्नै छातीबाट जस्ता गीत रहेका थिए। ९ जनाको गीतलाई पछि पार्दै निर्णायकहरुले महेश आचार्यको गीत थाहा छैन जिन्दगीमा उत्कृष्ट बनाएका थिए। वर्ष गीत पुरस्कार छनोट समितिमा गीतकार सुरेन्द्र राना र सुवासचन्द्र ढुंगेल निर्णायकमा रहेका थिए। कार्यक्रममा गीतकार, गायक, संगीतकार तथा प्राज्ञ सुनील मास्केले गीतकार संघलाई १ लाख १ हजार १ सय ११ रुपियाँ सहयोग हस्तान्तरण गरेका थिए।

त्यसै गरी, डायस्पोरा गीतकार सम्मान यसपटक बेल्जियमलाई कर्मथलो बनाइरहेका गीतकार अर्जुनरत्न भिखारीलाई प्रदान गरिएको छ। गीतकार भिखारीलाई नगद १५ हजार नगद राशिसहित सम्मान गरिएको थियो कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले कला, संस्कृतिको जगेर्नामा गीतकारहरूको भूमिका अतुलनीय रहेको चर्चा गरे। त्यस्तै संघका अध्यक्ष चूडामणि देवकोटाले नेपाली गीतकारका उत्कृष्ट रचनाकै कारण भारतीय गीत–संगीतको प्रभाव कम हुुँदै गएको बताए। उनीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले संघले सम्मान गर्दै आएको देवकोटाले बताए। गीतकार राजेन्द्र थापाले नन्दनजस्ता अग्रज कलाकारको पद पछ्याउँदै नेपाली संगीत क्षेत्र अघि बढिरहेको भन्दै राज्यले पनि कलाकारको सम्मान गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्