पाकिस्तान इजरायललाई मान्यता दिँदैन : कुरैसी



इस्लामाबाद (एजेन्सी)

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले उनको सरकार इजरायललाई मान्यता नदिने स्पष्ट पारेका छन् । पाकिस्तानका लागि प्यालेस्टाइन समस्या धेरै महत्वपुर्ण भएको कुरैसीले बताए । पहिला त्यसलाई सल्टाउन आवश्यक भएको उनले जोड दिए ।

पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैसी गत हप्ता यूएईको भ्रमणमा गएका थिए । युूएईले इजरायललाई मान्यता दिइसकेको छ । केही सन्चार माध्यमहरुले यूएई र साउदी अरेबिया पाकिस्तानमाथि इजरायललाई मान्यता दिन दबाव दिइरहेको जनाएको छ ।

मुल्तानमा सन्चार माध्यमसँगको कुराकानीमा कुरैसीले भने, ‘मैले यूएई सरकारलाई स्पष्ट पारेको छु कि जबसम्म प्यालेस्टाइन मुद्दाको हल हुँदैन, तबसम्म हामी इजरायललाई मान्यता दिने छैनौं । इजरायल र प्यालेस्टाइनलाई लिएर हाम्रो जुन निति छ, हामी त्यसमा कुनै प्रकारको परिवर्तन गर्दैनौं । ’

केही दिनअघि इमरानले प्रष्ट रुपमा इजरायललाई मान्यता दिने विषयमा उनी माथि अमेरिका बाहेक अर्को एक देशको पनि दबाव रहेको बताएका थिए । तर कुरैसीले प्रधानमन्त्री इमरानको बयान विपरित इजरायलको मामिलामा आफुहरुमाथि कुनै प्रकारको दवाब नभएको बताए ।

हालैका दिनमा पाकिस्तानको साउदी अरेबियासँग पनि विभिन्न मुद्दालाई लिएर सम्बन्ध राम्रो देखिएको छैन । पाकिस्तानको ‘द डन’ अखबारले साउदी अरेबिया सरकार पाकिस्तानमाथि इरान र टर्कीसँग नजिकको सम्बन्ध बनाउन बन्द गर्न दवाब दिइरहेको जनाएको छ । यो बाहेक इजरायललाई मान्यता दिन पनि दवाब दिइरहेको अखबारले जनाएको छ ।

हालैका केही महिनामा अमेरिकी मध्यस्थतामा मध्यवपुर्व लगायतका केही इस्लामिक मुकुकहरुले इजरायललाई मान्यता दिएको छ । ती देशले इजरायलसँग कुटनितिक सम्बन्ध पनि स्थापित गरेका छन् । सन् २०२० मा युनाइटेड अरब इमिरेट्स र बहराइनले इजरायललाई मान्यता दिएको हो । इजरायललाई मान्यता प्रदान गर्ने युनाइटेड अरब इमिरेट्स तेस्रो अरब राष्ट्र् हो ।

यसअघि जोर्डन र इजिप्टले इजरायललाई मान्यता दिएका थिए । यसबीच इजरायल र साउदी अरेबियाबीच पनि सम्बन्ध राम्रो बन्दै गइरहेको छ । केही हप्ता अघि मात्रै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले साउदी युवराज सलमानसँग भेटेका थिए । यस घटनापछि साउदी अरेबियाले पनि इजरायललाई मान्यता दिने अनुमान गरिएको छ ।

इजरायल र साउदी अरेबिया दुबैले इरानको परमाणु हतियार विकसित गर्ने योजनाको विरोध गर्छ । यो बाहेक यमन, सिरिया, इराक र लेबनामा इरानको महत्वाकाक्षीं विस्तारलाई लिएर पनि चिन्तित छ ।

प्रतिक्रिया दिनुहोस्