रियलद्वारा एइबार पराजित



मेड्रिड, (एजेन्सी)

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा रियल मेड्रिडद्वारा एइबार पराजित भएको छ ।

आइतबार राति भएको लिगको १४औं साताको खेलमा रियलले एइबारलाई उसैको घरेलु मैदानमा ३–१ गोलअन्तरले पराजित गरेको हो । योसँगै रियलले लगातार चौथो जित आत्मसात् गर्‍यो । रियलले आफ्ना पछिल्ला चार खेलमा शतप्रतिशत जित निकाल्न सफल भएको छ । एइबारको घरेलु मैदानमा रियलले खेलको छैटौं मिनेटमा अग्रता लिएको थियो । सो गोल करिम बेन्जेमाले गरेका थिए । उनले रोड्रिगो गोएसको पासमा गोल गरेका थिए ।

त्यसपछि, रियलले खेलको १३औं मिनेटमै अग्रता दोब्बर बनायो । यसपटक बेन्जेमाको पासमा लुका मोड्रिचले गोल गरे । त्यसपछि घरेलु टोलीका लागि किकेले खेलको २८औं मिनेटमा एक गोल गर्दै खेलमा फर्किने संकेत देखाएको थियो । सो गोलपछि एइबारले बराबरी गोलको खोजीमा लामो समय संघर्ष गरे पनि पाएका उत्कृष्ट अवसरलाई सदुपयोग गर्न सकेन । यता खेलको इन्जुरी समयमा लुकास भासक्वेजले बेन्जेमाको पासमा गोल गरेपछि रियलको जित ३–१ ले पक्का भयो । यो जितपछि १४ खेल सकिँदा रियलको २९ अंक भएको छ । यता, पराजित एइबारको भने १४ खेलपछि १५ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्