विप्रेषण आप्रवाह बढ्यो



काठमाडौं, (नेस) । 

चालू आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह ११ दशमलव २ प्रतिशतले वृद्धि भई ३३७ अर्ब ७२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २ दशमलव ८ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलव ४ प्रतिशतले बृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ दशमलव ९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५ दशमलव ८ प्रतिशतले कमी आई १९२५१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५ दशमलव ६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७ दशमलव ९ प्रतिशतले कमी आई २५९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९दशमलव १ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८ दशमलव ८ प्रतिशतले वृद्धि भई ३७३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही
अवधिमा यस्तो ट्रान्सफर २ दशमलव ९ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्