वन्यजन्तुबाट पशु तथा खेतीबाली जोगाउनै सकस



वीरबहादुर बम, मुगु । 

बर्सेनि रारा राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यावर्ती क्षेत्रका बासिन्दालाई जनावले हैरानी पार्ने गरेको छ । पाकेको बाली, फलफूल र घरपालुवा जनावर खाएर मात्र होइन मानिसलाई समेत बेला–बेलामा आक्रमण गरेर वन्यजन्तुले दुःख दिने गरेको छ ।

छायाँनाथ रारा नगरपालिका–८ झ्यारी गाउँमा राति मात्र होइन दिउँसै पनि जंगली जनावरले सताउने गरेको छ । यो हप्तामात्रै छायाँनाथ रारा नगरपालिका–९ का रमेश रावलका ८ वटा भेडा चुल्ठीमा रहेको खोरबाटै मारेको छ । कुकुरलाई समेत बाँकी राखेको छैन । सोही ठाउँका अर्का कृषक पदम रावलका २४, घुघुरे कामीका ५ गरी २९ भेडासमेत खोरमै मारेको पीडित रमेश रावल बताउनुहुन्छ ।

गत वर्ष मात्रै १५ भेडा, बाख्रा हिमाली भालुले मारेको थियो । झ्यारी गाउँमा १ सय ३२ घर–परिवारले भेडा–बाख्रा पाल्छन् । ती कृषिकले बर्सेनि भालु र बाघको आक्रमण सहनुपरेको सोही वडाका वडाध्यक्ष कर्णबहादुर रावल बताउनुहुन्छ ।

गत वर्षसम्म निकुञ्जले पीडितलाई राहात दिने गरेको थियो । वडा र नगरपालिकाको सिफारिसमा यो वर्षको पशुपालक कृषकलाई राहतका लागि रारा राष्ट्रिय निकुञ्जमा पहल गरिने अध्यक्ष रावल बताउनुहुन्छ । निकुञ्जअन्तर्गत झ्यारी गाउँ, मुर्मा, माथितुम, तलितुम, टोप्ला, पिना, बुलबुले निगालबोटलगायतका बासिन्दाले बर्सेनि जंगली जनावरबाट आर्थिक तथा भौतिक क्षति बेहोर्दै आएका छन् ।
निकुञ्ज हिमाली क्षेत्रमा पर्ने भएकाले हिमाली भेगमा हुने स्याउ, चुली ओखर, आरूलगायतका फलफूल तथा कोदो, मकै, फापर, आलु, सिमीलगायतका अन्नबालीसमेत वन्यजन्तुले सखाप पार्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्