गाउँमै मोटर पुगेपछि बोक्नुपरेन भारी



नेपाल समाचारपत्र, रसुवा ।

गाउँ–गाउँमा मोटर पुगेपछि भारी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । नौकुण्ड गाउँपालिका अन्तर्गत सिङ्बन्दीदेखि लाङ्बु, घोर्मु, सरसिउ हुँदै कालिका गाउँपालिकाको घुम्तीबजार, पासाङल्हामु राजमार्गसम्म सडक सञ्जाल जोडिएपछि भारी बोक्नुपर्ने अवस्था अन्त्य भएको हो । यससँगै सवारीसाधनमा ढुवानी गर्ने कार्य शुरू भएको छ ।

६ सयभन्दा बढी घरधुरी रहेको नौकुण्ड गाउँपालिका–१ मा स्थानीय तहको निर्वाचनपश्चात् भौगोलिक विकटताकै कारण सडक निर्माणको विकासलाई नै पहिलो प्राथमिकता दिइएको थियो । वडाध्यक्ष कान्छा तामाङले सडक निर्माणको साथसाथै आयआर्जनका लागि परम्परादेखि गर्दै आएका घरेलु सीपबाट गरिने कामलाई प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो ।

स्थानीयवासी छेसाङदावा तामाङ स्थानीय सरकारले सडक निर्माण, खानेपानी व्यवस्थापन, प्राथमिक उपचारका लागि स्वास्थ्य चौकी, विद्यालयको पठनपाठनमा गुणस्तर सुधार जस्ता कार्यले गरिबी क्षेत्रकोे मुहार फेरिँदै गएको बताउनुहुन्छ । प्रमुख पेशा कृषि र पशुपालनमा आधारित रहेको उक्त वडामा प्रत्येक घरले पाँचदेखि १० वटासम्म गाई, भैंसी, बाख्रा, जस्ता चौपाय पालेको र खेतीयोग्य जमिनका सतहमा बढी मात्रा ढुङ्गे चट्टानले गर्दा कृषिजन्य वस्तु उत्पादन न्यून भएपछि अधिकांश मानिसले अन्यत्रबाट खाद्य सामग्री ल्याउनुपर्ने बाध्यता रहेको थियो ।

यस्तै नौकुण्डको यार्सा, युब्रा, गाङभर, लारच्याङ, पारच्याङ, दारघारी, पाटीखर्क, सरमथली, दनुस्वाँरा, भोर्ले चित्तीलगायतका गाउँमा सडक सञ्जाल जोडिसकेको छ । नयाँ खोलिएका सबै मोटरबाटो दिगोपन बनाउन ठाउँ–ठाउँका खोला खोल्चाखाल्चीमा पुल–पुलेसा, नाली, टेवा पर्खाल र कालोपत्र गराउने कामलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्