पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड



काठमाडौं, (नेस) । 

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीविरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन नसक्ने बताउनुभएको छ । उहाँले एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वविरुद्ध एकताबद्ध भएर उभिन पनि नेता कार्यकर्तालाई अनुरोध गर्नुभएको छ । प्रचण्डले ओलीले जेजस्तो हर्कत गरे पनि बाँकी पार्टी पंक्ति एकताबद्ध रहेको दाबी गर्नुभएको छ ।

एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भन्नुभएको छ– ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पंक्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनताविरोधी यस प्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्नेछैन ।’ नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणामस्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार भएको विज्ञप्तिमा जनाइएको छ ।

ओली एक जनाको पार्टीविरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने ठोकुवा गर्दै विज्ञप्तिमा राष्ट्रको समृद्धि र नेपाली कम्युनिस्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकताबद्ध भएर उभिन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । प्रचण्डले ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई पार्टीको स्थायी कमिटीको बैठकले विरोध एवम् भत्र्सना गरिसकेको बताउनुभयो ।

कारबाहीको निर्णय आयोगमा

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद् विघटनपछिको विकसित घटनाक्रमबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ । ओलीलाई पार्टीले कारबाही गर्ने निर्णय गरेको जानकारी आयोगलाई गराएको हो । स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको अध्यक्ष प्रचण्डले जानकारी गराएको निर्णय निर्वाचन आयोगमा पुगेको छ । आइतबार स्थायी कमिटी सदस्य लीलामणि पोखरेल ओलीलाई कारबाही गर्ने निर्णयको पत्र लिएर निर्वाचन आयोगमा पुग्नुभएको थियो । आइतबार बसेको स्थायी कमिटीले गरेको अनुशासनको कारबाही गर्ने निर्णयलाई मंगलबार बस्ने केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने बताइएको छ ।

प्रचण्ड–नेपालद्वारा कानुनविद्सँग परामर्श

संविधान तथा कानुनविद्हरुले प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने कदम कुनै हालतमा संविधानसम्मत नभएको भन्दै संसद् विघटन हुनै नसक्ने बताएका छन् । सिंहदरबारमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुको छलफलमा कानुनविद्हरुले संविधानले संसद् विघटनको परिकल्पना नै नगरेको भन्दै ओलीको कदमविरुद्ध स्टेप चाल्न सुझाव दिएका हुन् ।

कानुनविद्हरुले संविधानलाई साथमा लिएर अघि बढ्न सुझाव दिएका छन् । कानुनविद्हरुको सुझाव सुनेपछि अध्यक्ष प्रचण्डसहितका नेताहरुले दलको बैठक र पार्टीमा छलफल गरेर आगामी स्टेप चाल्ने बताउनुभएको थियो । उक्त छलफलमा शम्भु थापा, प्रेम खड्का, राधेश्याम अधिकारीलगायत नेपाल बारका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसैबीच नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीका नेताहरुबीच बसेको सर्वदलीय बैठकले प्रतिनिधि सभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको तीनै दलको समान धारणा रहेको निष्कर्ष निकालेको छ । साथै सो कार्यको विरोध गर्न तीनै दल सहमत भएका छन् ।

उनीहरुले आगामी कार्यक्रम तय गर्न आ–आफ्ना दलका केन्द्रीय कार्यसमितिमा छलफल र निर्णय गर्ने समझदारी भएको छ । बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु बालकृष्ण खाँण, डा. मीनेन्द्र रिजाल र रमेश लेखकको उपस्थिति रहेको थियो ।

नेपाल कम्युनिस्ट पार्टीबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता झलनाथ खानाल, नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, वर्षमान पुन र कृष्णभक्त पोखरेल र जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, उमाकान्त झा र जितेन्द्र सोनालको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्