नेपालगञ्ज समाचारः भूमिहीन र अव्यवस्थित बसोबासीको लगत लिइँदै



न्युज अफ नेपाल ,नेपालगञ्ज ।

बाँकेको नरैनापुर गाउँपालिकाले भूमिहीन र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्न कार्यालय स्थापना गरेको छ ।अध्यक्ष इस्तियाक अहमद साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अव्यवस्थित बसोबासीको लगत सङ्कलन कार्यविधि २०७७ अनुसार कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले उक्त प्रयोजनका लागि चालू आर्थिक वर्ष २०७७÷७८ को पारित वार्षिक बजेटबाट कार्यालय स्थापना गर्नका लागि रु २५ लाख विनियोजन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

बसोबासका लागि सरकारी जग्गा खोजी तथा संरक्षण शीर्षकमा रु १० लाख, अध्यक्षको सिफारिस कार्यान्वयन हुने योजना तथा आयोजना शीर्षकमा रु १० लाख र उपाध्यक्षको सिफारिसमा कार्यान्वयन हुने योजना तथा आयोजना शीर्षकमा रु पाँच लाख छुट्याइएको प्रशासकीय शाहीले जानकारी दिनुभयो ।गाउँपालिकाको १ देखि ६ नम्बर वडामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्न वडा नं ४ मा कार्यालय स्थापना गरिएको छ ।

कार्यपालिका बैठकले कार्यालयको प्रमुख गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत अधिकृत विजयकुमार यादवलाई तोक्ने निर्णय पनि आइतबार गरेको छ ।प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार सो एकाइ कार्यालयमा खटाइने अन्य कर्मचारीको व्यवस्थापन पनि गरिएको छ । अमिनको रुपमा गाउँपालिकामै कार्यरत अमिन धनराज कठायत, सामाजिक परिचालकका रुपमा गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गत वडा कार्यालयमा कार्यरत सामाजिक परिचालक सुजित तिवारी, मनोजकुमार तमोली र हुसुन बानो दर्जीलाई तीन महिनाका लागि खटाउने निर्णय भएको छ ।तथ्याङ्क सङ्कलकमा वडा कार्यालयमा कार्यरत राकेशकुमार शर्मा र दाताराम यादवलाई खटाइने तथा कम्युटर अपरेटरका रुपमा गाउँपालिकामै कार्यरत विनोद चौधरीलाई पठाउने निर्णय बैठकले गरेको छ ।

थपिँदै उपचार सेवा

बाँकेको खजुरास्थित सुशील कोइरला प्रखर क्यान्सर अस्पतालले शल्यक्रिया सेवा शुरुआत गरेकोे छ । अस्पतालमा शरीरमा गाठागुठी भएका र मासु पलाएका तथा जटिल खालका बिरामीको शल्यक्रियासमेत हुने कार्यकारी निर्देशक डा कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो

अस्पतालमा बिरामीको नियमित उपचारसमेत भइरहेको छ । कोरोना महामारीले बिरामीको उपचारमा खासै प्रभााव नपरेको अस्पतालले जनाएको छ । सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशको जिल्ला बाँके, बर्दिया र दाङसम्मका नयाँ क्यान्सरका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका छन् ।

सङ्घीय सरकारको मातहतमा रहेको सो क्यान्सर अस्पतालका लागि खजुरा गाउँपालिकालगायत अन्य स्थानीय तहका जनप्रतिनिधि, स्थानीय प्रशासनले पनि सहयोग गरिहेको जनाइएको छ । विसं २०७५ असार ९ गते तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालनमा आएको सो क्यान्सर अस्पतालले अहिलेसम्म १० हजार बढी बिरामीलाई उपचार सेवा पु¥याइसकेको छ ।

अस्पतालले हालका लागि ओपिडी सेवा अन्तर्गत बिरामी जाँच, किमो थेरापी, प्याथोलोजी, रेडियोलोजी, शल्यक्रिया र फार्मेसी सेवा दिइरहेको छ । सरकारबाट १०० श्ययाको मान्यता पाएको अस्पतालले पहिलो चरण अन्तर्गत ५९ श्ययाबाट आफनो सेवा प्रारम्भ गरेको छ । यो अस्पतालको सेवा प्रारम्भ भएपछि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नागरिकलाई शुरुवाती चरणको उपचार सेवा लिन भरतपुर, काठमार्डौ जानुपर्ने बाध्यता पनि टरेको छ ।

खजुराका समाजसेवी किस्मतकुमार कक्षपतिको अगुवाइमा करिब १७ वर्ष अघि ९२०६५ सालमा० खजुरावासीको यज्ञकीर्तन, मुठीदानबाट अस्पताल निर्माणका लागि सङ्कलन गरेको रकमबाट शुरुमा खजुरा प्रखर क्यान्सर अस्पताल नामाकरण गरी भवन निर्माण गरिएको थियो । कक्षपति अहिले खजुरा गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारीमा हुनुहुन्छ ।

तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगन थापाले अस्पतालको स्वामित्व ग्रहण गरी नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नाममा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ नामाकरण गर्ने निर्णय गरेको थियो । यसपछि सोही नामबाट अस्पतालको सेवा सुचारु भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्