मनीषाको संरक्षण जिम्मा एसओएसलाई



नेपाल समाचारपत्र, स्याङ्जा । 

पहिरोले परिवारका नौ सदस्यसहित घरबासै पुरेपछि सहाराविहीन बन्न पुगेकी मनीषा नेपालीको संरक्षणको जिम्मा एसओएस बालग्राम पोखराले लिएको छ । वालिङ नगरपालिका–९ तमादीमा मनीषाको घरमा गत असोज ८ गते बिहान घरमाथिबाट आएको पहिरोले एकैघरका नौ जनाको पुरिएर ज्यान गएको थियो भने मनीषालाई जीवितै उद्धार गरिएको थियो ।

घर–परिवार गुमाएकी मनीषालाई बालग्राममा भर्ना गरी पारिवारिक वातावरणमा लालनपालन र शिक्षादीक्षा दिई आत्मनिर्भर बनाएर समाजमा पुनःस्थापित गर्ने उद्देश्यसहित जिम्मा लिएको एसओएस बालग्राम पोखराका बाल संरक्षण स्रोत व्यक्ति एवं वरिष्ठ परामर्शकर्ता सुमन बरालले बताउनुभयो । मनिषाको शिक्षा–दीक्षा, स्वास्थ्योपचार, लालनपालनलगायतको जिम्मा लिएको एसओएसले अब कक्षा ११ मा विज्ञान विषय अध्ययनका लागि त्यहीं नै व्यवस्थापन गरिने र अन्य विषय अध्ययन गर्न चाहेमा अन्य विद्यालयमा भर्ना गर्ने उहाँको कथन छ ।

विश्वभर १ सय ३६ राष्ट्रमा स्थापित एसओएस बालग्राम नेपालमा हाल ९ वटा रहेका छन् । पोखरामा सञ्चालनमा रहेको बालग्राममा हाल आफ्ना अभिभावक गुमाएर असहाय बनेका १ सय ४१ जना बालबालिका छन् ।

पीडित मनीषाको संरक्षणको जिम्मा लिएर उहाँको भविष्य निर्माणका लागि एसओएसले खेलेको भूमिकाप्रति वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले आभार व्यक्त गर्नुभएको छ । नगर प्रमुख खाँणको रोहवरमा मनीषाको संरक्षकमा बालग्राम रहनेछ भने अभिभावकका रूपमा दाजु भोजराज परियार र माइजु गीता नेपाली रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्