सिटी शीर्ष ४ निकट



लन्डन, (एजेन्सी)  ।

साउथ ह्याम्पटनविरुद्धको खेल १–० ले जितेपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको अंकतालिकामा शीर्ष ४ निकट पुगेको छ ।

शनिबार राति सेन्ट मेरिजमा भएको खेलमा सिटीलाई कठिन जित दिलाउन राहिम स्टर्लिङले निर्णायक गोल गरेका हुन् । उनले खेलको १६औं मिनेटमा केभिन डी ब्रुएनको पासमा गोल गरेका थिए । त्यसपछि दुवै पक्षबाट गोल नभएपछि सिटी३ अंक जोड्दै अंकतालिकाको छैटौं स्थानमा उक्लियो ।

यस्तै, एभर्टनसँग पराजयपछि आर्सनलले यस सिजनको प्रिमियर लिगमा आठौं हार बेहोरेको छ । मेनेजर मिकेल आर्टेटाले आर्सेनल टिमका खेलाडीहरू हाल पीडामा रहेका बताए । गुडिसन पार्कमा भएको अवे खेलमा आर्सनल घरेलु टिम एभर्टनसँग २–१ ले पराजित भएको थियो ।

एभर्टनले यस सिजनमा सात दिनभित्र ठुल्ठूला टिमलाई हराएको छ । आर्सनललाई हराउनुअघि कार्लो एन्सेलोटीको टिमले चेल्सी र लेस्टर सिटीलाई समेत हराएको थियो । एभर्टनका लागि यरी मिनाले एक गोल गरे भने अर्को आत्मघाती गोल थियो । आर्सेनलका लागि पेपेले पेनाल्टीमार्फत् गोल गरेका थिए । यो हारपछि आर्सनल १४ अंकसहित १५औं स्थानमा रहेको छ । एभर्टनको भने २६ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्