अक्सिजन भेन्टिलेटर विस्फोट हुँदा नौ जनाको मृत्यु



इस्तानबुल, (एजेन्सी) ।

दक्षिणी टर्कीस्थित कोरोना भाइरस संक्रमितहरूको उपचार भइरहेको एउटा अस्पतालमा एउटा अक्सिजन भेन्टिलेटर विस्फोट हुँदा नौजना मानिसको ज्यान गएको छ । स्थानीय गभर्नरको कार्यालयले गाजियान्टेपमा रहेको ‘सान्को युनिभर्सिटी’ नामक निजी अस्पतालमा शनिबार सो विस्फोट भएलगत्तै आपतकालीन उपचार कक्षमा आगलागी भएको जनाएको छ ।

यस दुर्घटनामा अर्को अस्पतालमा सारिने क्रममा कम्तीमा एकजना बिरामीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जोन्स होप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकअनुसार झन्डै २० लाख कोरोना संक्रमित रहेको टर्कीमा १७ हजार ६ सय १० जनाको मृत्यु भइसकेको छ । बिहान सबेरै भएको आगलागीमा भने कसैलाई पनि चोट नलागेको बताइएको छ ।

मारिनेहरूमा ५६ देखि ८५ वर्ष उमेर समूहका व्यक्ति परेको अस्पतालले पुष्टि गरेको छ । विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान शुरू भइसकेको छ । गत महिना पनि रोमानियाको एक अस्पतालमा आगलागी हुँदा कोरानाको उपचार गराइरहेका १० जना बिरामीको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्