संसद् विघटनपछि सुरक्षा व्यवस्था कडा



नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले संसद् विघटन गरेपछि मुलुकभरको सुरक्षा कडा पारिएको छ । सरकारले संसद् विघटनको निर्णय गरेपछि त्यसको सर्वत्र विरोध भइरहेका बेला राजधानीलगायत देशैभरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिनुभएको थियो ।

सत्ता पक्षबाट नै सरकारको कदमको तीव्र विरोध भएपछि नेपालको पछिल्लो सुरक्षा अवस्थाका बारेमा नेपाली सेनाको प्रिन्सिपल स्टाफ बैठक (पीएसओ)को बैठकले समेत सुरक्षाका बारेमा छलफल गरेको सैनिक मुख्यालयले जनाएको छ ।

मुख्यालय स्रोतका अनुसार मुलुकको पछिल्लो अवस्था नाजुक बन्दै गएकाले देशभरका पृतनालाई सुरक्षा सतर्कता अपनाउन प्रधानसेनापति पूर्णचन्द्र थापाले निर्देशन दिनुभएको छ ।

सरकारको उक्त कदमपछि राजधानीको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने देशभरका मुख्य शहरहरुमा समेत सुरक्षा व्यवस्था कडा बनाउन गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । प्रदेश सुरक्षा प्रमुखहरुलाई समेत शान्ति सुरक्षाका बारेमा जानकारी लिनसमेत निर्देशन दिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुले देशभरको शान्ति सुरक्षालाई कायम राख्न मातहतका निकायलाई निर्देशन दिएका छन् । अहिले मुलुक जटिलमोडमा पुगेकाले शान्ति सुरक्षा पहिलो प्राथमिकता भएकाले सोहीबमोजिम काम गर्न निर्देशन दिएको बताइएको छ ।

मुलुकमा जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले कुनै पनि सुरक्षाकर्मीलाई बिदा नछोड्न र सुरक्षाका लागि २४सै घण्टा तैनाथी अवस्थामा सुरक्षा निकायलाई राख्न पनि निर्देशन दिएको बताइएको छ ।

नेकपाकै नेताहरुले प्रधानमन्त्री केपी ओलीको पुतला दहन गर्न थालेपछि त्यस्ता क्रियाकलापलाई पूर्णरुपमा नियन्त्रणमा राख्न सुरक्षा निकायले मातहतका निकायलाई निर्देशन दिएको छ । जिल्लामा दुई प्रहरी संगठनले मात्र स्थिति नियन्त्रणमा लिन नसके सेनाको सहयोग लिनसमेत गृहले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्