आगो तापेरै पढाइ



मुगु, (नेस) ।

मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले यो वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोनाका कारण पाठ्यकोर्स पूरा नभएपछि गाउँपालिकाले हिउँदे बिदा सदुपयोग गर्न लागेको हो ।

कर्णालीका हिमाली जिल्लामा पुस र माघमा जाडो बिदा हुने गरेको छ । ‘कोरोनाका कारण वर्षैभरि अवरुद्ध भएको पढाइ नियमित गर्न हिउँदे बिदामा पनि विद्यालय बन्द नगर्ने निर्णय गरेका हौं।’ –गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले भन्नुभयो ।

गाउँपालिकाका विद्यालय १८ मंसिरबाट सञ्चालनमा आइसकेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकालक्ष्मी उपाध्याले बताउनुभयो । उहाँले भने– ‘अत्यधिक जाडोको समयमा पनि केही विद्यालयका विद्यार्थीले आगो तापेरै पढाइलाई निरन्तरता दिन थालेका छन् ।’

गाउँपालिकाले विद्यार्थीको अवरुद्ध पढाइ सुचारु गराउन आवासीय विद्यालय पनि सञ्चालनमा ल्याएको छ । २ सयभन्दा बढी विद्यार्थीलाई समूहमा राखेर आवासीय विद्यालयमा पनि पठनपाठन शुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज कठायतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्