काइली सवैभन्दा कमाउ



सन् २०२० कोरोना कहरका कारण दुनियाँको प्रायः सबै क्षेत्र प्रभावित रह्यो। यस वर्ष आम मानिसदेखि ठूला–ठूला कलाकारले समेत कोरोनाका कारण मुस्किलको सामना गर्नुर्‍यो।

तर, हलिउडमा केही यस्ता कलाकार छन्, जसको भाग्य वर्षभर चम्कियो। यहीबीच विश्व चर्चित फोब्र्स म्यागेजिनले यस वर्ष सबैभन्दा बढी कमाइ गर्ने सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ। जसमा २३ वर्षीया चर्चित अमेरिकी टेलिभिजनकर्मी तथा कस्मेटिक व्यवसायी काइली जेनरको नाम पहिलो नम्बरमा आएको छ। काइलीले यसपटक ५ सय ४० मिलियन डलर कमाइ गरेर अन्य सेलिब्रेटीलाई पछाडि पारेकी छन्। केही समयअघि काइली र फोब्र्सको विवाद चर्चामा आएको थियो। दुई वर्षअघि फोब्र्सले काइलीलाई संसारको सबैभन्दा कम उमेर २१ वर्षकी अरबपति महिला दाबी गर्दै एक सामग्री प्रकाशन गरेको थियो।

तर, त्यसको केहीपछि फोब्र्सले नै काइलीले सबैभन्दा कम उमेरको अरबपति बन्नका लागि नक्कली प्रमाण पेस गरेको भनेर खुलासा गरेको थियोे। यसको जवाफ काइलीले ट्विटरमार्फत मसँग कति पैसा छ देखाउनुको अलवा मसँग सयौं काम छन् भनेर दिएकी थिइन्। तर, त्यसको दुई वर्षपछि अहिले फोब्र्सकै लिस्टमा काइली सबैभन्दा बढी कमाउने सेलिब्रेटीको लिस्टमा पहिलो स्थानमा पर्न सफल छिन्।

यसै गरी, सबैभन्दा बढी कमाइ गर्ने दोस्रो सेलिब्रेटीमा काइलीकै सौतेनी बहिनी किम कार्डसियनको पति तथा र्‍यापर कान्या वेस्ट परेका छन्। केही समयअघि अमेरिकी रास्ट्रपतिको चुनाव लड्ने घोषणा गरेर चर्चामा आएका कान्याले पछि आफ्नो निर्णय बदलेका थिए।

यस्तै तेस्रो नम्बरमा चर्चित टेनिस खेलाडी रोजर फेडरर परेका छन् भने चौथो नम्बरमा पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो र पाँचौ नम्बरमा अर्जेन्टिनाका फुटबल सुपरस्टार लियोनल मेसी छन्। त्यस्तै, सन् २०२० मा सर्वाधिक कमाइ गर्नेहरुको टप टेनमा अभिनेता ड्वेन जोनसन, ब्राजिलका चर्चित फुटबलर नेयमार, अमेरिकी अभिनेत्री टेलर पेरी तथा टेलिभिजनकर्मी हावर्ड स्टेनको नाम सामेल छ।

प्रतिक्रिया दिनुहोस्