ग्राण्डीमा मिर्गौला प्रत्यारोपण पुनः शुरु



काठमाडौँ । टोखा नगरपालिकामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सञ्चालन आएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विसं २०७६ चैतदेखि नेपाल सरकारले गरेको बन्दाबन्दीसँगै स्थगित भएको सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो ।

विसं २०७३ असारदेखि मिर्गौला प्रत्यारोपण सेवा शुरु गरेको ग्राण्डीले हालसम्म ५६ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिसकेको अस्पतालका प्रशासक हरि खड्काले राससलाई जानकारी दिनुभयो । ग्राण्डीले अस्पतालभित्र हुने शल्यक्रियालाई आवश्यक पर्ने रगतका लागि आफ्नै ‘रक्तसञ्चार केन्द्र’ समेत स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

दुई सय शय्यामार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको ग्राण्डीले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि ५४ शय्या छुट्याएर भेन्टिलेटर, आईसीयूसहित सेवा प्रदान गर्दै आइरहेको छ । ग्राण्डीले हालसम्म ३३० कोरोना सङ्क्रमित बिरामीको उपचार सम्पन्न गरिसकेको छ ।

कोभिड सङ्क्रमणसँगै ग्राण्डीमा बिरामीको चापसमेत घटेको छ । कोभिड सङ्क्रमण शुरु हुनुपूर्व दैनिक ५०० देखि ७०० सम्म बहिरङ्ग ९ओपीडी० सेवा प्रदान गर्दै आएकोमा हाल दैनिक २०० देखि ३०० बिरामी बहिरङ्ग सेवाका लागि आउने गरेको अस्पतालका महाप्रबन्धक विकासमान सिंहले जानकारी दिनुभयो ।

कोभिड सङ्क्रमणको समयमा ग्राण्डी अस्पतालमा शल्यक्रियासमेत घटेको छ । कोभिड–१९ अगाडि मासिक ४०० व्यक्तिको विभिन्न रोगको शल्यक्रिया गर्दै आएको ग्राण्डीले कोभिड शुरु भएसँगै महिनाको १०० हाराहारीमा शल्यक्रिया गरेको छ । कोभिडको समयमा सामान अभावसँगै भाउ बढ्दा उपचारमा समेत समस्या आएको उहाँको भनाइ छ ।

सरकारले कोभिड–१९ को उपचारका समयमा निजी स्वास्थ्य सेवा प्रदायक संस्थासँग छलफल नगरी एकतर्फी निर्देशिका जारी गर्दा समस्या परेको महाप्रबन्धक सिंहको भनाइ छ । विसं २०६९ पुसमा स्थापना भएको ग्राण्डी अस्पतालमा हाल एक हजार स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्