पनौती नगरपालिकामा कृषकलाई भैसीका थोरे चालु वर्षमा ५ सय वितरण गरिने



मोतीराम तिमल्सिना, काभ्रे ।

पनौती नगरपालिकाको कार्यालय, कृषि तथा पशुपंछी शाखाले चालु आर्थिक वर्षमा कृषकहरुलाई अनुदानमा ५ सय थोरे उपलब्ध गराएको छ । पुर्व मन्त्री एवं संघिय सासद गोकुलप्रसाद बास्कोटाले कृषकहरुलाई थोरे(पाडी) वितरणको शुभारम्भ गर्नु भएको थियो ।

उत्पादनशील भैंसीको संख्यालाई संरक्षण गर्न र दुध उत्पादनमा निरन्तरता दिलाउन, भैंसीको आनुवांशिक गुणलाई संरक्षण गर्न तथा रोजगारी सिर्जनासहित पनौतीलाई दुधालु भैंसीको स्रोत केन्द्रका रूपमा विकास गर्न नगरपालिकाले भैसी संरक्षण र सम्वद्र्धन कार्यक्रमलाई प्राथमिकता दिएको नगर प्रमुख भिम न्यौपानेले बताउनु भयो ।

लैनो भैंसी खरीदका लागि पनौती नगरपालिकाभित्रका किसानले वर्षेनी ३ करोड रूपैंयाभन्दा बढी रकम बाहिर पठाउने गरेको, नगर क्षेत्रमा रहेका भैंसीको गणना हुँदा ४ हजार ७ सय ४७ रहेको र सो संख्यामा वृद्धि नभएको अवस्था, पशुपालन र दुध उत्पादनमा काभ्रे जिल्लाकै उत्कृष्ट पालिकाका रूपमा पनौती रहेको र आधार वर्षमा नगर क्षेत्रमा उपभोग भइ बाँकी रहेको दुध दैनिक ३५ हजार लिटर बाहिर जाने गरेको अवस्था, उत्पादनशील भैसीलाई पुनः ब्याउने बेलासम्म पाल्ने नगरेको अवस्था, भैंसी पालेका किसानहरूले समेत जन्मेको पाडीलाई हुर्काइ भंैसी बनाएर पाल्नमा अनिच्छा देखाएको, लैना भैंसीलाई महँगो मूल्यमा खरिद गरी ल्याउने तर सामान्य परिमाणमा दुध घट्न थाल्ने बित्तिकै उत्पादनशिल भैंसीलाई विक्री गरि पुनः बढी मूल्य तिरेर लैनो भैसी खरिद गर्ने चलन रहेको, भैंसी बहुउपयोगी र दुधको बजारीकरणमा समस्या नहुँदासमेत युवा जनशक्ति पशुपालन र कृषि व्यवसायमा आकर्षित हुन नसकेका, पनौती नमुनायोग्य भैसीको श्रोत केन्द्र बन्न सक्ने सम्भावना भएर पनि हुन नसकेको र किसानहरू व्यावसायिक बन्न, स्वरोजगार हुन र पशुपालनमा आधारित साना उद्योग सञ्चालन गर्नुभन्दा वैदेशिक रोजगारीमा जान लालायित हुने गरेको अवस्था रहेको नगर प्रमुख न्यौपानले बताउनु भयो ।

‘कालो सुन’ को रूपमा चिनिने र फाइदै फाइदा रहेको बहुउपयोगी भैंसीको संख्या नगर क्षेत्रबाट दिनानु दिन घट्दो क्रममा रहेको हुँदा सो क्रमलाई रोक्न पनौती नगरपालिकाको आर्थिक वर्ष ०७५/७६ को नीति कार्यक्रम तथा बजेटमै समावेश गरेर भैंसी संरक्षण र संवद्र्धन कार्यक्रम सुरू गरिएको नगर प्रमुख न्यौपानले बताउनु भयो ।

उक्त कार्यक्रमका लागि नगरपालिकाले भैसीको तथ्याङ्क संकलन, भंैसीको पकेट क्षेत्र निर्धारण, भंैसी सुत्केरी भत्ता वितरण (पहिलो बेत ब्याएकोलाई ५ हजार र अन्य बेत ब्याएकोलाई २ हजार पाडापाडीको जन्मदर्ता कार्यक्रम, गोठ÷खोर सुधारका लागि अनुदान, पशु विमाको प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदान, पशु आहाराका लागी घाँसका विउ वितरण र प्रविधि हस्तान्तरण, पशु खोप तथा उपचार सेवा कार्यक्रम तथा अन्य आवश्यकीय भेटेरीनरी सेवाहरू प्रदान गरिएको कृषि तथा पशुपक्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले बताउनु भयो ।

आर्थिक वर्ष ०७६/७७ मा भंैसीका पाडी/थोरे ३ सय वटा वितरण गरेको सापकोटाले न्यौपानेले बताउनु भयो । पाडी वितरणमा लैङ्गिक तथा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिँदै कृषक छनौट गरएिको छ भने पाडी प्राप्त गर्ने कृषकको २ लाख रुपैंयाबराबरको दुर्घटना बीमा र पाडीको पशु बीमा नगरपालिकाले नै गर्दै आएको छ । भैंसी संरक्षण र संवद्र्धन कार्यक्रममा किसानहरूको सहभागिता बढेका कारण हाल नगरक्षेत्रमा भंैसीको संख्या ७ हजार १ सय ७६ पुगेको छ ।

यो संख्या आधार वर्षको भन्दा २ हजार ४ सय २९ ले बढेको छ । आधार वर्षभन्दा अघिल्लो वर्षसम्म नयाँ भैसी खरिद गर्ने प्रचलन कायमै रहेकोमा कार्यक्रम लागू भएपछि यो क्रम क्रमशः घट्दै गइरहेको छ । आधार वर्ष भन्दा अघिल्लो वर्षमा ३ सय वटा भैंसी पनौती नगरक्षेत्रमा बाहिरबाट भित्रिने गरेकोमा सो वर्ष १ सय ५० वटामात्रै भित्रिएबाट कृषकको करीव २ करोड रकम वचत भएको अवस्था छ ।

नगरपालिकाले नगरपालिका क्षेत्रको वडा नम्वर १, २ र १२ लाई भैसीपालन पकेट क्षेत्र, वडा नम्वर ३, ८ र १० लाई गाई पालन क्षेत्र, ६, ९ र ११ लाई बाख्रा पालन क्षेत्र तथा ४,५ र ७ नम्वर वडालाई तरकारी खेतिको पकेट क्षेत्र घोषणा गरी कार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्