अनैतिक सम्बन्ध लुकाउन हत्या, दुई पक्राउ



शिक्षा पन्त, लमजुङ ।

लमजुङ प्रहरीले हत्या अभियोगमा संलग्न दुई युवकलाई पक्राउ गरेको छ । बुधबार बिहान सुन्दरबजार नगरपालिका– ४ बस्ने धुुब्र भुजेलकी श्रीमती ३४ वर्षीया धनमाया भुजेलको हत्या अभियोगमा संलग्न दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो । लमजुङका डिएसपी गंगाबहादुर थापाका अनुसार सुन्दरबजार नगरपालिका– ३ बस्ने वर्ष २० का सागर भुजेल र त्यही ठाउँ बस्ने १९ वर्षीय विकास भुजेललाई घटना घटेको ३६ घन्टा नबित्दै पक्राउ गरिएकोे हो ।

प्रहरीले सागरलाई पोखरा र विकासलाई उनकै घरबाटै पक्राउ गरेको हो । प्रहरी चौकी दुराडाँडा र जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापासहितको टोलीले भुजेलको हत्यारालाई पक्रिएको हो । हत्यारा मध्येका मुख्य पात्र सागर भुजेल र मृतकबीच अनैतिक सम्बन्ध भएको र मृतक धनमाया गर्भवती छिन् भन्ने हल्ला गाउँमा सुनेपछि सागर भुजेलले धनमायालाई हत्या गर्ने सोच बनाई हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । हत्यारा पहिचान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुर ल्याएर अनुसन्धान गरिएको थियो ।

मृतकका श्रीमान् मंगलबार बिहानै कृषि फर्ममा काम गर्न गए नगएको निधो गरी दुबैजना धनमायाको घरमा गई धनमाया सुत्ने कोठामा प्रवेश गरी जाँतो माथीको ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको डिएसपी थापाले बताउनुभयो । प्रहरीका अनुसार पक्राउ परेका सागर र विकास शुक्रबार नै जिल्ला अदालतबाट मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्