नदीमा फोहोरमैला र ढल निकासले गंगाजल प्रयोग गर्नै सकस



मिला दरै, तनहुँ ।

हिन्दु धर्मावलम्वीहरुमा गंगाजल महत्वपूर्ण मानिन्छ । देवकर्म तथा पितृकर्मका लागि शुद्धाशुद्धीलाई महत्व दिइन्छ । यसअवसरमा हामी नेपालीहरुले शुद्ध हुनका लागि गंगाजल छर्कनैपर्ने मान्यता छ । २१औं शताब्दीमा पुगिसक्दा पनि हामी नेपालीले हिन्दु परम्परा अनुसार धार्मिक कार्य गर्दा गंगाजल बोतल वा भाडाहरुमा ल्याएर छर्कने प्रचलन छ ।
नेपाली परम्परा अनुसार देवकर्म र पितृकर्म पुरा गर्न अहिले पनि गंगाजल ल्याउने र प्रयोग गर्ने गरिन्छ ।

तर जति संसारमा विकास हुँदै गएको छ । सोही अनुरुप नदीनाला, कुण्ड, तलाउ जस्ता ठाउँहरुमा सिधैं फोहोरमैला, ढल मिसाउने कार्य बढ्दै गएको छ । विकाससँगै प्राकृतिक स्थलहरुको विनाश भइरहेको छ । अहिले घरभित्रै बाथरुम बनाएर सोझै तातोचिसो पानी उपलब्ध गराइएको पाइन्छ ।
 बाथरुममा नुहाइएको पानी र दिसापिसाब सिधै खोलानाला, नदी, कुण्डमा मिसाउदा भने गंगाजलको महत्व खस्कदै गएको पाइन्छ । हिन्दु धर्मकै आधारमा विश्वजगतमा परिचित देवघाटधाम स्थित कालीगण्डकी, त्रिशुली, व्यासको जन्मभूमि व्यास पराशर क्षेत्रको मादीसेती नदी, पशुपति क्षेत्रको महत्वपूर्ण बाग्मती नदीको जललाई गंगाजलको रुपमा प्रयोग गरिन्छ ।

सधैं त्यस्ता क्षेत्रमा पुगिरहने समय अभावले पवित्र स्थलहरुबाट बोतलमा ल्याइएको गंगाजल अहिले पनि उत्तिकै महत्वपूर्ण छ । अहिले यी धार्मिक महत्वका क्षेत्रहरुमा सिधैं फोहोरमैला, ढल मिसाउँदा त्यहाँका पानी प्रयोग गर्न सक्ने अवस्थाका छैनन् । होटल, घरहरुबाट निस्कने फोहोमैला तथा ढल सिधा मिसाउँदा ती नदीहरुको पानी उपयोग गर्न योग्य मानिदैन । तर हिन्दु धर्मावलम्वीहरुको परम्पराले अहिले पनि उत्तिकै स्थान दिने गरेको पाइन्छ ।

होटल, घर, कलकारखानाबाट निस्कने फोहोर सिधैं नदीनालामा मिसाउने प्रक्रियालाई रोक्नतर्फ भने कसैको पनि चासो पुगेको छैन । यस्ता सिधैं फोहोरमैला विर्सजन गर्ने कार्यको व्यवस्थापन कसले गर्ने ? यस विषयमा भने गहन अध्ययनको आवश्यकता देखिन्छ । अहिले नेपालमा तीन तहको सरकार छ तर यस विषयमा भने कुनै पनि तहको चासो नपुगेको धार्मिक क्षेत्रका व्यक्तिहरुको गुनासो पनि आउने गरेका छन् ।

धर्मग्रन्थहरुमा जति नदीनाला, गण्डकीहरुको निर्मल, शान्त तथा कञ्चन रहेको व्याख्या गरिएको पाइएपनि यसको प्राकृतिक स्वरुपको संरक्षणमा कसैको पनि चासो नपुगेको देवघाट क्षेत्र विकास कोषका अध्यक्ष शिवराज पौडेल बताउनुहुन्छ । ‘फोहोरमैला प्रत्यक्ष रुपमा मिसाउनु दुखद विषय हो, फोहोरमैलाकै कारणले धर्म छोड्न पनि सकिदैन, हामीले परापुर्वकालदेखि मान्दै आएका परम्परा तथा प्राकृतिक नदीहरुमा अहिले प्रत्यक्ष रुपमा खुला खोल्साखोल्सीको पानी त स्वातः मिसिएको छ, तर कलकारखाना, होटल, घरबाट निस्कने फोहोरमैलादेखि सेप्टीट्याङ्कीको फोहोर समेत मिसाइएको देखिन्छ यसको व्यवस्थापनमा कसैको चासो पुगेको छैन, यसतर्फ सरकारलाई सचेत भने गराएका छौं,’ अध्यक्ष पौडेलले भन्नुभयो ।

‘धार्मिक क्षेत्रका नदीनालाहरुमा स्नान गर्दा दर्शनार्थीहरुको शरीरमा छालाको समस्या आउनु हुँदैन, नदीनालामा फोहोरमैला तथा ढल मिसाउनु हुँदैन भन्ने सन्देश दिने गरिएको छ, तर फोहोरमैला व्यवस्थापनको लागि सबै तहले एउटै सन्देश दिने गरी अगाडि बढ्न सके यसको व्यवस्थापन पनि गर्न सकिन्छ,’ उहाँले भन्नुभयो ।]

प्रदुषणयुक्त पानीले स्नान गर्दा दर्शनार्थीहरुको छालामा नयाँ रोग उत्पन्न हुने अवस्था आउन नहुने उहाँको भनाई छ । केही यस्ता धार्मिक रुपमा महत्वपूर्ण मानिएका नदीहरुको पानी प्रयोग गर्न सक्ने] अवस्थाको नभएको समेत धार्मिक क्षेत्रमा सम्बद्ध व्यक्तिहरुको भनाई छ ।

त्यस्तै तनहुँको अर्को धार्मिक स्थल व्यासको २८औं अवतरण भूमि मादीसेती नदीको पानीलाई पनि गंगाजलको रुपमा प्रयोग गर्दै आएको पाइन्छ । मादी नदीमा दमौली बजार क्षेत्रका होटल, कलकारखाना, घरबाट निस्किएका सेप्टीट्याङ्कीका प्रदुषणयुक्त फोहोरमैलाले दुषित बनेको छ । यहाँका धार्मिक व्यक्तित्वहरुले फोहोरजन्य पदार्थ नदीनालामा नमिसाउन व्यास नगरपालिकालाई अनुरोध गर्दै आएका छन् । मादीसेती नदीमा नपारपालिका क्षेत्रको फोहोरमैला तथा ढल मिसाउने गरिएको छ ।

फोहोरमैला व्यवस्थापनमा समस्या

मादी नदी किनारमा व्यास नगरपालिकाभित्रका फोहोरमैलाको व्यवस्थापन गर्ने गरिएको थियो । फोहोर व्यवस्थापनको उचित स्थान नहुँदा नदी किनारमा फोहोर विर्सजन गरिदै आएको थियो । जति दमौली बजारमा जनघनत्व बढ्दै जान्छ, त्यति नै फोहोर र ढलको निकाश बढ्दै गएको छ ।

फोहोरको व्यवस्थापन गरिएपनि ढलको निकाशलाई व्यवस्थित गर्न भने सकिएको छैन । दमौली बजारको फोहोर नदी किनारबाट अन्यत्र सारिए पनि घर, होटेल र कलकारखानाबाट निस्कने ढलको व्यवस्थापन अवस्था जटिल छ । त्यहाँबाट निस्कने ढल सिधै नदी र खोलाहरुमा मिसाइएको छ ।

नगरपालिकाका १, २, ३, ४ र ५ नम्बर वडाबाट सिधै मादी नदीमा ढल निकाश गरिएको छ भने केही ठाउँको बुल्दी खोलामा मिसाइएको छ । खोलामा निकाश गरिएको फोहोर र ढल अन्ततः नदीमा नै मिसिएको छ । त्यही मादी नदीको पानीलाई हामीले गंगाजलको रुपमा प्रयोग गर्दै आएका छौं ।

सिधैं नदी किनारमा फालिदै आएको फोहोरमैला अन्यत्र व्यवस्थापन गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । ‘अझै स्थायी रुपमा एक ठाउँमा फोहोरमैला व्यवस्थापन गर्ने लक्ष्यका साथ धेरै ठाउँहरुमा अध्ययन तथा अनुसन्धान भइरहेको छ, हालका लागि भने व्यक्तिको जग्गामा फोहोर व्यवस्थापन गरिएको छ,’ नगर प्रमुख न्यौपानेले भन्नुभयो ।

पहाडी क्षेत्रमा सेफ्टी ट्याङ्कीको फोहोरमैला भने नदीमा मिसाउने कार्य नगरिएको उहाँ बताउनुहुन्छ । ‘घरभित्रै सेफ्टी ट्याङ्की भरिएपछि नगरपालिकाले व्यवस्थापन गर्ने गरेको छ, सिधै नदीमा विसर्जन गरिने गरिएको छैन, सेफ्टी ट्याङ्कीको फोहोरमैला भने छुट्टै नदीमा नभेटिने गरी नगरपालिकाले उठाएर विसर्जन गर्दै आएको छ, मादी नदीको गंगाजल स्वच्छ छ,’ उहाँ भन्नुहुन्छ ।

व्यास नगरपालिकाले सेफ्टी ट्याङ्कीको फोहोर व्यवस्थापनका लागि विगतमा सरकारले रकम विनीयोजन गर्ने गरेको भएपनि हाल बजेट रोकिएको उहाँले बताउनुभयो । ‘नगरपालिकाले संघीय सरकार समक्ष ढल व्यवस्थापनका लागि प्रोजेक्ट नै बनाएर बुझाएको भएपनि चासो दिएको छैन, त्यसले गर्दा अहिले यहाँको सेफ्टी ट्याङ्कीबाट निस्कने फोहोर व्यवस्थापन नगरपालिकाको आन्तरिक खर्चबाट चलाइएको छ,’ उहाँले भन्नुभयो ।

उहाँ भन्नुहुन्छ, ‘वातावरणीय तथा स्वास्थ्यका लागि बाथरुमको फोहोरमैला सहितको पानीले पनि असर गर्छ, नदी तथा खोलामा घर, होटलबाट निस्कने गरेका बाथरुमका पानी भने मिसिने गरेको छ, सेफ्टी ट्याङ्कीको ढल मिसिदैन, तर स्वास्थ्यको लागि राम्रो त होइन, यो पानी भने नदीमा नै मिसिने गरेको छ, यतिले मात्रै खासै पानी प्रदुषित भने छैन, अन्य ठाउँको भन्दा मादी नदीको गंगाजल शुद्ध र सफा रहेको छ ।’

व्यास नगरपालिकाका पाँच वटा वडाबाट करिब ११ टन फोहोर दैनिक रुपमा संकलन र व्यवस्थापन गर्दै आएको उहाँको भनाई छ । नगरपालिकाले कुहिने र नकुहिने छुट्याएर पुनःप्रयोगको व्यवस्थापन गर्ने योजना समेत अगाडि बढाएको उहाँ बताउनुहुन्छ ।

मादी नदी किनारमा फोहोर फालिन्छ तर सोही नदीको तल्लो भागमा व्यास नगरपालिका–५ पाटन स्थित परोपकार ज्येष्ठ नागरिक चौतारी (बृद्धाश्रम) रहेको छ । सोही आश्रमका उपाध्यक्ष सु.बलबहादुर रानाभाट भन्नुहुन्छ, ‘यसरी नदी किनारमा फालिएको फोहोरको थुप्रोले जनमानसमा धेरै असर पुगेको छ, तर यस विषयमा सम्वन्धित निकायले चासो दिएको थाहा पाइएको छैन ।’

‘एक त नदीको सौन्दर्य हराएको छ, फोहोरको थुप्रो जथाभावी फालिदिदा एकातिर वायु प्रदुषण बढ्दै गएको छ भने अर्कोतर्फ नदीको पानीलाई गंगाजलको रुपमा प्रयोग गर्न पनि सकस भएको छ,’ उहाँ भन्नुहुन्छ ।

छालामा समस्या उत्पन्न ]

फोहोरमैला र ढल मिसिएको गंगाजल प्रयोग गर्दा अधिकांश मानिसमा छालाको समस्या आउन सक्छ । ढलसँगै सेफ्टी ट्यांकीको फोहोर मिसिएको नदीको गंगाजलले शुद्धीकरण हुनुको सट्टामा छालामा समस्या देखिन सक्छ । विभिन्न रोगी नै भएका मानिसहरुलाई पनि गंगाजल छर्किएर शुद्धीकरण गर्दा अझ ती मानिसमा रोग थपिने उत्तिकै सम्भावना हुनेछ ।

स्वच्छ गंगाजलको प्रयोगका लागि सरकारले नै योजना बनाएर अगाडि बढ्न सके पक्कै पनि नदीहरु जति लेखाई र देखाइमा कञ्चन हुन्छन् । त्यस्तै स्वच्छ बनाउन सकिने विज्ञहरुको भनाई पनि छ । नेपाल हिन्दु राज्य भएकाले पनि गंगाजललाई स्वच्छ बनाउने कदम चाल्न आवश्यक देखिन्छ ।

जलचरको नास

नदी तथा खोलाहरुमा फोहोरमैला र ढल निकासले जलचर जीवजन्तुको नास हुन्छ । पानीमा बसेर मानिस उपयोग गर्न नहुने तर उनीहरुले आहार हुने गर्दछ । जलचर जीवजन्तुको आहार उत्पादनलाई नासिदा ती जीवहरु पनि मासिदै जाने गर्दछ । तीप् जीवको संरक्षणका लागि पनि नदी तथा खोलामा ढल निकासलाई रोक्नुपर्ने हुन्छ ।

मानव जातिलाई हानी गर्ने तर ती जीवजन्तुको आहार संरक्षणका लागि पनि नदीहरुमा फोहोरमैला तथा ढल निकासलाई रोक्नेतर्फ सम्बन्धित निकायले ध्यान पु¥याउनुपर्ने विज्ञहरुले सचेत गराउदै आइरहेका छन् । मानव जातिले प्रयोग गर्न नसक्ने प्रदुषणहरु खाएर बाँच्ने प्राणीको संरक्षण गर्नु सर्वश्रेष्ठ चेतनशील मानवले गर्नुपर्ने देखिन्छ ।

जलचर प्राण्ीहरुको संरक्षणले मानिसहरुलाई प्रभाव पार्ने तथा रोग निम्तिाउन सक्ने विकारका वस्तुहरुलाई आफूले खाने गर्दा पनि हाम्रो स्वास्थ्यमा टेवा पुग्न सक्छ । मानवसँगै पृथ्वीमा जीवित प्राणीहरु परस्परका परिपुरक हुन् ।

एक प्राणीको जीवनसँग अर्को प्राणीको जीवन जोडिएको छ । तसर्थ चेतनशील मानवले नै सबै प्रकारका प्राणीको जीवन बचाउनतर्फ सचेत हुन जुरुरी देखिन्छ । सरकारले योजना नै बनाएर भए पनि सबै जसो प्राणीको संरक्षण गर्नतर्फ प्रेरित गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्