सिंहको अध्यक्षतामा भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन



पुष्कर बुढाथोकी,भक्तपुर ।

सरकारले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीप्रेन्द्ररमण सिंहको अध्यक्षतामा भक्तपुर क्यान्सर अस्पतालको विकास समितिको गठन गरेको छ। समितिको सदस्यमा नीति योजना महाशाखाका निर्देशक डा.गुणराज लोहनी र चिकित्सकका तर्फबाट डा. गणेश दंगाललाई नियुक्त गरेको अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिनुभयो ।

त्यसैगरी अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेल समितिका सदस्य सचिवमा रुपमा रहनुभएको छ । समितिमा भक्तपुर नगरपालिका प्रमुख र भक्तपुर अस्पताका मेडिकल सुपरिटेण्डेण्ट पदेन सदस्य रहने व्यवस्था रहेको छ। ११ सदस्यीय समिति पूर्णता हुनका लागि क्यान्सर सोसाइटीबाट ३ जना र २ जना समाजसेवीका तर्फबाट सदस्य सिफारिस हुन बाँकी रहेको छ ।

कात्तिक २४ गते बसेको मन्त्रिपरिषदको बैठकले भक्तपुर क्यान्सर अस्पताल संघीय सरकारले सञ्चालन गर्ने निर्णय गरेको थियो। यसअघि अस्पताल नेपाल अर्बुद रोग निवारण संस्था नामक गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएकोमा त्यहाँं भ्रष्टाचार भएको भन्दै भक्तपुर नगरपालिकाले हस्तक्षेप गरेको थियो।

असपतालको व्यवस्थापनमा बिवाद भएपछि मन्त्रिपरिषदले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्