तमोर नदीमा काठेपुल बनेसँगै गाउँ–गाउँमा पुग्यो गाडी



दिलकुमार लिम्बु, ताप्लेजुङ।

फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा ४ वटा अस्थायी काठे मोटरेवल पुल बनेसँगै गाउँ–गाउँमा यातायात सेवा पुगेको छ ।

फक्ताङलुङ गाउँपालिका तमोर नदीको दुई किनारमा पर्दछ । फक्ताङलुङ   गाउँपालिका–१ सावादिन, वडा नं २ खेजेनिम, वडा नं ४ इखाबु र वडा नम्बर ६ लेलेप तमोर नदीको दायाँ भागमा पर्दछ । त्यस्तै, वडा नं ३  लिङखिम, वडा नं ५ तापेथोक र वडा ६ लेलेपका सेकाथुम र अन्य गाउँहरु तमोर नदीको बायाँ किनारामा पर्दछ । एक गाउँबाट अर्को गाउँ आवत–जावत गर्न तमोर नदी तर्नुपर्दछ । अहिले प्रायः सबै वडा सडक सञ्जालले जोडिएको छ ।

घर–आँगनमा गाडी आइपुग्दा स्थानीय बासिदा निकै खुसी भएका छन् । तमोर नदीमा तीन वर्षदेखि चार ठाउँमा अस्थायी मोटरेवल पुल निर्माण गरेर स्थानीयबासीलाई यातायातको पहुँच पु¥याइरहेको फक्ताङलुङ गाउँपालिकाले यो वर्ष फक्ताङलुङ–१ सावादिन र पक्ताङलुङ–३ लिखिम जोड्ने तमोर नदीमा ३ लाख ७५ हजारमा अस्थायी काठे मोटरेवल पुल स्थापना गरेको छ । यो पुल सञ्चालमा आए पछि फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर १ र २ का ९ सय १  घुरधुरीका परिवारले यातायातको सेवा पाएका छन् ।

फक्ताङलुङ–५ छिरुवा र फक्ताङलुङ गाउँपालिका ४ इखाबु गाउँ जोड्ने तमोर नदीमा पनि ३ लाख ७५ हजारमा अस्थायी काठे मोटरेवल पुल निर्माण भएको छ । यो पुल सञ्चालनमा आएपछि फक्ताङलुका इखाबु गाउँका ४ सय २२ घरधुरीका परिवारले प्रत्यक्ष लाभावित भएका छन् । फक्तालुङ गाउँपालिकाको केन्द्र तापेथोकदेखि फक्ताङलुङ–६ साघु जोड्ने तमोर नदीमा स्थायी मोटरेवल पुल गाउँपालिकाले स्थापना गरेको छ । यो पुल सञ्चालन भएपछि साघु गाउँको र फेम्बु अन्य गाउँका ३ सय घर–परिवारले यातायात सेवाबाट प्रत्यक्ष लाभ लिने भएको छ । तापेथोक र लेलेप जोड्ने रानी पुलमा बनेको अस्थायी काठे मोटरेवल सञ्चालनमा आएपछि लेलेप, लुङथुङ, सेकाथुम फले, ग्याप्ला, घन्सा र फक्ताङलुङ–७ ओलाङचुङ गोलाका गरी २ सय ९९ घर–परिवारले प्रत्यक्ष यातायातको सेवाबाट लाभ लिने भएका छन् ।

स्थानीय सरकारको अनुभूति दिलाउन प्रत्येक गाउँमा गाडी पु¥याउनका लागि आवश्यक बजेट विनियोजन गरेर तमोर नदीमा ३ लाख ७५ हजार रुपियाँमा ४ वटा अस्थायी काठे मोटरेवल पुल स्थापना गरेको फक्ताङलु गाउँपालिका अध्यक्ष सरोज लिम्बुले बताउनुभयो ।

मंसिर महिनामा स्थापना गरिएको अस्थायी काठे मोटरेवल पुल जेष्ठसम्म सञ्चालनमा आउनेछ । बर्खाको समय तमोरको पानी बढ्ने भएकाले बर्खाको समयमा पुलबाट यातायात सञ्चालनमा आउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्