युएई र बहराइनद्वारा चिनियाँ खोपलाई अनुमति



चीनको सिनोफार्मले विकसित गरेको कोरोना खोपलाई युनाइटेड अरब इमिरेट्सले मञ्जुरी दिएको छ । चीनबाहिर उक्त खोपलाई अनुमति दिने यूएई सरकार पहिलो हो । चिनियाँ खोपको प्रारम्भिक डाटाले ८६ प्रतिशत प्रभावकारिता देखाएको छ । कुनै खोपको प्रभावकारिता सफल हुन यो आँकडा पर्याप्त हो ।

त्यसैगरी, चाइना नेसनल फर्मास्युटिकल ग्रुप (सिनोफार्म)ले विकास गरेको चिनियाँ खोपलाई अनुमति दिने अर्को राष्ट्र बहराइन हो । बहराइन सरकारले नागरिकहँलाई खोपका लागि अनलाइन रजिस्ट्रेसन पनि खुला गरिसकेको छ । बहराइनको स्वास्थ्य मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा १८ वर्षभन्दा बढी उमेर समूहका नागरिकले निःशुल्क खोप हासिल गर्न सक्ने जनाइएको छ ।

बहराइन सिनोफार्मको कोरोना खोपको तेस्रो चरणको परीक्षणमा समावेश रहेको र फ्रन्टलाइनमा काम गरिरहेका पेसागत व्यवसायीका लागि आपतकालीन प्रयोग गर्न यसअघि नै अनुमति दिइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बहराइनले केही दिनअघि मात्रै फाइजर बायोएनटेक खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

कोरोना भाइरसको उद्गम चीनको वुहान भए पनि चीनले यसको संक्रमणमाथि नियन्त्रण पाइसकेको छ । विश्वमा अहिलेसम्म ७ करोड ३७ लाखभन्दा बढी यस भाइरस संक्रमणको चपेटामा आइसकेका छन् भने १६ लाख ३० हजार भन्दा धेरैले ज्यान गुमाइसकेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्