शुक्रबारसम्म बेरुजु फछ्र्योटको विवरण दिन निर्देशन



बुटवल, (नेस) ।

लुम्बिनी प्रदेश सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले शुक्रबारसम्म बेरुजु फछ्र्योट सम्बन्धमा भएको प्रगति विवरण लिखितरूपमा उपलब्ध गराउन प्रदेश मन्त्रालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका सचिवहरु समेतको उपस्थितिमा मंगलबार बसेको बैठकमा समितिले उक्त निर्देशन दिएको हो ।

महालेखा परीक्षकको कार्यालयले औंल्याएको बेरुजु सम्बन्धमा छलफल गर्न मंगलबार बोलाइएको बैठकमा सचिवहरुले बेरुजु फछ्र्योटसम्बन्धी मौखिक रुपमा मात्रै विवरण प्रस्तुत गरेपछि शुक्रबारसम्ममा बेरुजु फछ्र्योटसम्बन्धी प्रगति विवरण लिखितरूपमै उपलब्ध गराउन समितिले सचिवहरुलाई निर्देशन दिएको हो ।

समितिका सभापति डिल्लीबहादुर चौधरीले महालेखा परीक्षकको कार्यालयले आंैल्याएको प्रदेश मन्त्रालय र मातहतका कार्यालयको बेरुजु फछ्र्योटको अवस्था र आगामी दिनमा बेरुजु नहुने गरी काम गर्ने विषयमा मन्त्रालयको योजनाबारे छलफल गर्न सचिवहरुलाई समितिमा बोलाइएको जानकारी दिनुभयो ।

महालेखा परीक्षकको कार्यालयले लुम्बिनी प्रदेश सरकारअन्तर्गत सञ्चालित योजना तथा कार्यक्रमहरुको ९४ करोड ७३ लाख ७२ हजार रुपियाँ बेरुजु रहेको औल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्