एउटा परेवाको मूल्य १४ लाख पाउन्ड



लक्जम्बर्ग, (एजेन्सी) । 

‘न्यु किम’ नामक बेल्जियमको आकाशमा उडान दौड लगाउने एउटा पोथी परेवा विश्व कीर्तिमानसहित १४ लाख पाउन्डमा बिक्री भएको छ । अनलाइनमार्फत भएको लिलाममा एकजना अज्ञात चिनियाँ नागरिकले त्यो परेवा किनेका हुन् । यसरी दौडमा भाग लिने परेवाहरूको लिलाम गर्दै आएको बेल्जियमको लिलाम गृह पिपाले गर्दै आएको दुई साता लामो लिलाम दौरानको अन्तिम ३० मिनेटमा अप्रत्यासित ढंगले त्यत्रो महँगो मूल्यमा परेवा बिक्री भएको थियो ।

‘सुपर डुपर’ र ‘हिटम्यान’ जस्ता छद्म नामबाट लिलाम बढाबढ गरिरहेका दुई चिनियाँमध्ये एकले त्यसको अन्तिम बोली लगाएका थिए । परेवा हात पार्ने ‘सुपर डुपर’ नामक ती धनी उद्योगपतिले यसअघि पनि ‘अर्मान्डो उर्फ लिविस ह्यामिल्टन’ नामक अर्को भाले परेवा पनि किनेका थिए । गत वर्ष आर्मान्डो १२ लाख ५० हजार पाउन्डमा बिक्री भएको थियो ।

ती दुवै परेवा प्रजननका लागि खरिद गरिएको हुनुपर्ने अनुमान गरिएको छ । न्यु किमको लिलाम २ सय पाउन्डबाट शुरू भएको थियो । तर, लिलाम शुरू भएको ९० मिनेटमै एउटा दक्षिण अफ्रिकी समूह १३ लाख १० हजार पाउन्ड तिर्न तयार भएको थियो । त्यसपछि दुई जना धनी चिनियाँ बीच प्रतिस्पर्धा प्रारम्भ भएको थियो । एन्ट्वेर्प नजिकको बेर्लार निवासी उक्त परेवाका मालिकले आफू र आफ्नो परिवार यति महँगो दाममा परेवा बिकेकोमा छक्क परेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्