रनरेटको आधारमा अछाम फाइनलमा



विनोद सिंह विष्ट, बैतडी । 

अछामले प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमको पुरुष टोलीको प्रदेशस्तरीय छनोटको फाइनलमा स्थान सुरक्षित गरेको छ ।

नेट रनरेटका आधारमा डडेल्धुरा र कञ्चनपुरलाई पछि पार्दै अछाम फाइनल प्रवेश गरेको हो । समूह ‘बी’ मा रहेका यी तीनै टिमले समान ४/४ अंक जोडेका हुन् । कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्च मैदानमा सोमबार भएको खेलमा अछामले डडेल्धुरालाई २ विकेटले हराएको थियो ।

डडेल्धुराले दिएको १ सय ६९ रनको लक्ष्य अछामले सुरज तिरुवाको ६० रनको मद्दतमा ८ विकेटको क्षतिमा पूरा ग¥यो । डडेल्धुराका सन्तोष भट्टले ३ विकेट लिए । ६० रन बनाएका अछामका सुरज तिरुवा ‘म्यान अफ द म्याच’ चुनिए ।

यसअघि, पहिला ब्याटिङ गरेको डडेल्धुरा १ सय ६८ रनमा समेटियो । टिमका लागि अरुण ऐरीले ४८ तथा सुरेन्द्र पन्तले नटआउट हुँदै ४१ रन जोडेका थिए । अछामका अनिल कुँवरले ४ विकेट हात पारे ।

यस्तै, कभर्डहल मैदानमा कञ्चनपुरले डोटीलाई १ सय १६ को फराकिलो रनअन्तरले पराजित ग¥यो । कञ्चनपुरले दिएको २ सय ८४ रनको विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रेको डोटी १ सय ६७ रनमै खुम्चिएको थियो । डोटीका लागि आयुव चन्दले ८९ रन प्रहार गरे पनि टोलीलाई जिताउन सकेनन् । कञ्चनपुरका आकाश चन्दले ३ विकेट लिए ।

पहिला ब्याटिङ गरेको कञ्चनपुरले ४८ दशमलव ४ ओभरमा २ सय ८३ रन बनाएको थियो । टिमका लागि ‘म्यान अफ द म्याच’ अनिल कुमार थापाले ७४ तथा किरण ठगुन्ना र हेमन्त धामीले समान ५४/५४ रन जोडे । डोटीका सविन महराले २ विकेट हात पारे ।

प्रतियोगिताअन्तर्गत समूह ‘ए’ का खेलहरू आजदेखि सञ्चालन हुनेछन् । समूह ‘ए’ मा बैतडी, दार्चुला, बझाङ र कैलाली रहेका छन् । समूह ‘ए’ बाट फाइनल पुग्ने टोलीसँग अछामको उपाधि भिडन्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्