साना तथा मझौला व्यवसायलाई प्राथमिकता दिन जोड



????????????????????????????????????

नेपाल समाचारपत्र, काठमाडौं ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले औपचारिक भेटवार्ता गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा सहभागी प्रतिनिधिमण्डलले दाहालसँगको भेटवार्तामा नयाँ नेतृत्वले कोभिड संकटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझावसहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराउनुभयो ।

अध्यक्ष गोल्छाले आर्थिकदेखि सम्पूर्ण क्षेत्रकै लागि कोभिड अत्यन्त ठूलो चुनौती बनेर आएकाले यसबाट मुलुकलाई सकुशल माथि उठाउनु सबैको कर्तव्य भएको र निजी क्षेत्रको नेतृत्वदायी संस्था महासंघले यसका लागि विशेष गृहकार्य गरिरहेको बताउनुभयो । निजी क्षेत्रले सरकार तथा राजनीतिक दलबाट मुलुकको आर्थिक पुनरूत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो ।

सो अवसरमा महासंघका पदाधिकारीहरुबाट साना तथा मझौला उद्योग व्यवसायको पुनरूत्थानमा विशेष जोड दिनुपर्ने बताउँदै मौद्रिक नीतिमार्फत आएका राहतका सुविधाहरूको कार्यान्वयनको अनुभुति स्थानीय तहका उद्यमी व्यवसायीले गर्न पाउनुपर्नेमा जोड दिइयो ।

सो अवसरमा पूर्व प्रधानमन्त्री प्रचण्डले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँंदै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नयाँं टिम सफल हुने विश्वास व्यक्त गर्नुभयो । निजी क्षेत्रको सर्वोच्च संस्था महासंघलाई आफूले सधै उच्च प्राथमिकता दिएको स्पष्ट पार्नुहुँदै उहाँले मुलुकको अर्थतन्त्रको प्रमुख आधारको रूपमा रहेका साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि आफ्नो पनि विशेष जोड रहेको र महासंघको नयाँं नेतृत्व पनि यसमा नै केन्द्रित रहेको पाउँंदा आफूलाई खुशी लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्