‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौं’ घोषणा



नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौं’ कार्यक्रम घोषणा गरेको छ । २६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाले सोमबार यस्तो घोषणा गरेको हो ।

समृद्धिको आधारलाई आत्मसात् गर्दै जनस्वास्थ्यसम्बन्धी सेवालाई बढी प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले तय गरेको जनस्वास्थ्य नीति कार्यान्वयन गर्ने तथा आधारभूत स्वास्थ्य सेवालाई सुलभ, कम खर्चिलो तथा गुणस्तरीय एवं भरपरर्दो बनाउने योजनाअन्तर्गत मिर्गौला बचाउ अभियानसँगको सहकार्यमा यो कार्यक्रम घोषणा गरेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

उक्त कार्यक्रमअन्तर्गत वडा–वडामा पिसाब परीक्षण गर्ने, परीक्षण गर्दा रोगको लक्षण देखिएका व्यक्तिहरुको प्रयोगशालामा परीक्षण गर्ने, सोसम्बन्धी तालिम दिनेलगायत रहेको छ । उक्त कार्यक्रम पुस १ गतेबाट लागू हुने पनि महानगरपालिकाले जानकारी दिएको छ ।

महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउनको समयमा उल्लेख्य भूमिका खेलेको स्मरण गराउनुभयो । कोरोना रोकथाम र नियन्त्रणका बेला मुलुकभरिका स्थानीय तहले खेलेको भूमिकाका कारण संघीयता मुलुकका लागि अपरिहार्य भएको प्रमाणित गरेको पनि उहाँले बताउनुभयो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र कसैको निगाह वा चन्दा पुरस्कारमा प्राप्त भएको होइन’, उहाँले भन्नुभयो– ‘अब मुलुकका लागि संघीयता स्थापित भइसकेको छ । यसलाई सामान्य झड्काले परास्त गर्न सकिन्न भन्ने पुष्टि काठमाडौं महानगरपालिकाले गरेको छ ।’
कार्यक्रमलाई नै सम्बोधन गर्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं महानगरपालिकाले सम्पदा पुनर्निर्माण, भौतिक पूर्वाधारलगायतका विषयमा उल्लेख्य काम गरेको भन्दै आगामी दिनमा स्मार्ट सिटीका रुपमा विकास गर्दै लैजान थप भूमिका खेल्नेमा आशावादी भएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको उपस्थितिमा केही दिनअघि मात्रै काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्यमुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्ने विषयमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सम्झौता भएको स्मरण गराउँदै भन्नुभयो– ‘पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, लाजिम्पाटलगायतका क्षेत्रमा आधुनिक बत्ती जडानको कार्य अघि बढाउने सहमति भएको छ । संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरलाई उज्यालो महानगर बनाउने अभियान अघि बढिसक्यो ।’

उहाँले काठमाडौं महानगरपालिकाले भित्री सडक मात्रै होइन, मुख्य सडक पनि झिलिमिली बनाउने योजनाका साथ अघि बढेको बताउनुभयो । उहाँले स्वाथ्य क्षेत्र नेपाल सरकार र प्रदेश सरकारको दायित्वभित्र रहेको भए पनि काठमाडौं महानगरपालिकाले पनि विभिन्न निकायसँगको सहकार्यमा काम गर्दै अघि बढेको बताउनुभयो । महानगरपालिका क्षेत्रभित्र राष्ट्रियस्तरका सरकारी अस्पतालहरु रहेको स्मरण गराउँदै ती अस्पतालसँगको सहकार्यमा कोभिड नियन्त्रण र रोकथामका लागि विभिन्न खाले सहकार्य गर्दै आएको पनि उहाँले बताउनुभयो । ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौं’ कार्यक्रम घोषणा त्यसैमध्येको एक हो’, उहाँले भन्नुभयो– ‘कोभिडको जोखिम बढ्नुअघि नै काठमाडौं महानगरपालिकाले त्यसको रोकथाम र नियन्त्रणका लागि १० करोडको कोष स्थापना गरेको थियो ।’

त्यसै गरी शाक्यले सम्पदा संरक्षण, हरियाली प्रवद्र्धनलगायतका सन्दर्भमा पनि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । हरेक वर्ष वाजा गुरुलाई सम्मान गर्दै आएको स्मरण गराउँदै शाक्यले यहाँका मूर्त–अमूर्त सम्पदाको संरक्षणमा विशिष्ट योगदान दिएका व्यक्तिहरुलाई समेत सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले महानगरपालिकाले धेरै काम गरेको भए पनि प्रचार गर्न नसकेको बताउनुभयो । ‘महानगरपालिकाले धेरै राम्रा काम गरेको छ । तर, प्रचार गर्न नसक्दा केही कमजोरी जस्तो देखिएको छ’, उहाँले भन्नुभयो– ‘महानगरपालिकाले अब छिट्टै महानगरका मुख्यमुख्य चोकमा उच्च मात्रामा प्रकाश दिनसक्ने बत्तीहरु जडान गर्ने तयारी गरेको छ ।’

काठमाडौं महानगरपालिकाले इन्द्रजात्रासँग सम्बन्धित पुस्तक ‘इन्द्रजात्रा’को पनि विमोचन गरेको थियो । १९७६ पुस ३ गते सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा भएको दिनलाई आधार मानेर काठमाडौं महानगरपालिकाले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।

स्थापना दिवसकै अवसर पारेर काठमाडौं महानगरपालिकाले मेयर्स अवार्डबाट एक जनालाई सम्मान गरेको छ । त्यसै गरी उत्कृष्ट कर्मचारी १० जना, जनकमान श्रेष्ठ सुशासन पुरस्कार–२०७७ बाट दुई जना जनप्रतिनिधि र दुई जना कर्मचारी, महानगर सेवा पदकबाट १० जना जनप्रतिनिधि र १० जना कर्मचारीलाई पनि महानगरपालिकाले सम्मान गरेको छ । त्यस्तै काठमाडौं महानगरपालिका सुशासन पत्रकारिता पुरस्कारबाट १० जनालाई सम्मान गरेको छ । उक्त सम्मानबाट न्युज एजेन्सी नेपालबाट कृष्णा पौडेल, नयाँ पत्रिका दैनिकबाट प्रकाश धौलाकोटी, बिजमाण्डु डटकमबाट दिनेश खड्का, थाहा खबरबाट अतिन आचार्य, खबर हब डटकमबाट सविना कार्की, कान्तिपुर टिभीबाट सृजना बास्तोला, नामी साप्ताहिकबाट श्याम स्मृत, नेवाः युट्युब विजयरत्न तुलाधर असंबरे, लहना न्युज डटकमबाट सुरेन्द्रभक्त श्रेष्ठ र नेपाल भाषा डाइम्स सम्मानित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्