उड्नै लागेको विमानको पखेटामा मान्छे   



लसभेगास, ( एजेन्सी) ।

अमेरिकाको लसभेगासका प्रहरीले शनिबार अपरान्ह विमानस्थलको धावनमार्गमा रोकिएको अलास्का एयरलायन्सको जेट विमानको पखेटामा टाँसिएर बसेको अवस्थामा एकजना पुरुषलाई गिरफतार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको त्यो व्यवहार विमानभित्र रहेका यात्रुहरूले आश्चर्य मान्दै हेरिरहेको भिडियो अनलाइनमार्फत भाइरल भएको छ । सो भिडियोमा एकपटक उनले आफ्नो पाइन्टको बाहुला बेर्दै माथि तानिरहेको र सरकारी अधिकारीहरूमाथि जुत्ता फाल्न लागेकाजस्ता देखिन्छन् ।

 त्यसपछि पखेटालाई अझै बेस्सरी च्याप्न खोजेका उनलाई समाउन केही अधिकारी अघि बढेको देखिन्छ भने तिनीहरू उनीसामु पुग्नुअघि नै उनी पखेटाबाट भुइँमा खसेको देखिन्छ । भुइँमा उनको टाउको ठोकिएको स्पष्ट देखिन्छ । अन्ततः अधिकारीहरू र अग्निनियन्त्रकहरू उनलाई समाउन सफल हुन्छन् ।

 एयरलाइनसले सो विमान पोर्टल्यान्डका लागि उड्ने तरखरमा रहेको बताएको छ । उक्त घटनापछि जेट विमानको पुनः पूर्णतः जाँपरीक्षण गरिएको थियो । नाम नखुलाइएका ती व्यक्तिलाई के–कति चोट लागेको छ भन्ने खुलासा गरिएको छैन । उनी पर्खाल नाघेर विमानस्थलको सो संवेदनशील क्षेत्रमा पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्